शुक्लालाई ‘मिस नेपाल युएस-२०२१’को उपाधि
अखबार टुडे
प्रकाशित:
२०७८, ११ आश्विन

न्यूयोर्क, ११ असोज । ‘मिस नेपाल युएस(२०२१’को ताज प्रतिक्षा शुक्लाले जितेकी छन् । न्यूयोर्कमा आयोजित फिनालीमा आफ्ना दश जना प्रतिस्पर्धीलाई पछि शुक्लाले उपाधि हात पारेकी हुन् । यस्तै, कला न्यौपाने फस्ट रनरअप एलिसा लिम्बु सेकेन्ड रनरअप घोषित भए । विजेताले क्रमशः १५००, १००० र ५०० अमेरिकी डलर जिते ।
मिस नेपाल आयोजक संस्थाको दशौं वार्षिकोत्सवअन्तर्गत यसपटक फिनाली आयोजना गरिएको हो । शीर्ष दशमा अपेक्षा सिंह गुरुङ परियार, कला न्यौपाने, प्रतिक्षा शुक्ला, प्रतिशा प्रधान, प्रितिजा जैसी, रीया श्रेष्ठ, सुनिता अधिकारी, सान्यमिता श्रेष्ठ, सोन्यासा थापा तथा एलिशा लिम्बु पुगेका थिए ।
पूर्वमिस नेपाल माल्भिका सुब्बाले भर्चुअल माध्यममार्फत यसपटक ग्रुमिङ सिकाएका थिइन् । अमेरिकी सरकारले ट्रेडमार्क उपलब्ध गराएपछि पहिलोपटक पेजेन्ट आयोजना भएको हो । क्विन्स थिएटरमा आयोजना भएको फिनाली अघि कार्यक्रममा भाग लिनेको कोभिड–१९ परीक्षण गरिएको थियो । प्रतियोगिता २०११ मा न्यूयोर्कबाट अमित शाहले सुरु गरेका थिए । पहिलो मिस नेपाल युएसको उपाधि सुजिता बस्नेतले जितेकी थिइन् ।

प्रतिक्रिया