काठमाडौं, १० असोज । तेह्रथुम फेदाप-३ जलजलेका ६३ वर्षीय विष्णुकुमार सिंगकलाई उपचारका लागि प्राप्त सहयोगमध्ये ७ लाख ५ हजार रुपैयाँ एक अनौपचारिक कार्यक्रमबीच हस्तान्तरण गरिएको छ । घाँटीको क्यान्सरबाट पीडित रहेका सिंगकलाई शनिबार सो रकम चर्चित गायक राजेशपायल राईको हातबाट हस्तान्तरण गरिएको हो ।
याक्थुङ सिंगक फाउण्डेशनको पहलमा विभिन्न देशमा रहेका नेपालीले विष्णुकुमारको उपचारका लागि १० लाख १७ हजार सहयोग गरेका थिए । तर, विष्णुकुमारको उपचारमा ७ लाख ५ हजार रुपैयाँ मात्र खर्च भएको थियो । बाँकी रहेको रकम ३ लाख १२ हजार रुपैयाँ विष्णुकुमारले याक्थुङ सिंगक फाउण्डेशनलाई नै बुझाएको फाउण्डेशनकी अध्यक्ष मीना सिंगकले बताइन् । उनका अनुसार उक्त रकम अन्य विमारीको सहयोगमा खर्च गरिने छ ।
विष्णुकुमार विगत ९ महिनादेखि घाँटीको क्यान्सरबाट पीडित थिए । उपचारपछि निको भएपछि उनले बाँकी रकम आफूजस्तै विमारीलाई सहयोग गर्न फाउण्डेशनलाई बुझाएका हुन् । विष्णुुकुमारको उपचारका लागि हङकङ, अमेरिका, कोरिया, मलेसियालगायत नेपाली रहेका विभिन्न मुलुकबाट सहयोग आएको फाउण्डेशनकी अध्यक्ष मीना सिंगकले जानकारी दिइन् ।
सामान्य खेतीपातीबाट आफ्नो जीवनयापन गरिरहेका बिष्णुकुमारले आफ्नो जायजेथाले उपचार खर्च धान्न नसकेपछि सामाजिक संस्था ‘याक्थुङ सिंगक फाउन्डेसन’मार्फत अपिल गरेका थिए ।
करिब एक महिनाको अभियानमा सो रकम जम्मा भएको थियो । आफूलाई सहयोग गर्ने मनकारीहरुलाई विष्णुकुमारले धन्यावाद समेत व्यक्त गरेका छन् । मनकारी सहयोगीबाट प्राप्त १० लाख १७ हजारमध्ये ७ लाख ५ हजार उपचार खर्च, कोठा भाडा, खाद्यान्न, औष्धि, भिटामिन आदिमा खर्च भएको बताइएको छ ।