आजदेखि ३८ क्विन्टल सुन तस्करी मुद्दामा बहस सुरु हुने
अखबार टुडे
प्रकाशित:
२०७८, १० आश्विन

काठमाडौं, १० असोज । मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणको अनुसन्धानका क्रममा खुलेको ३८ क्विन्टल सुन तस्करी प्रकरणको मुद्दामा जिल्ला अदालत मोरङमा आज (आइतबार)बाट अन्तिम बहस सुरु हुने भएको छ ।
तस्करीको साढे ३३ किलो सुन गायब भएपछि तस्करको समूहको यातनाका क्रममा २०७४ साल फागुन १८ गते मोरङको उर्लाबारी नगरपालिका १ मा शाक्यको मृत्यु भएको थियो ।
हत्या अनुसन्धानका क्रममा सुन तस्करीको ¥याकेट पत्ता लागेको थियो । करिब चार वर्षअघि दर्ता भएको शाक्य हत्या तथा सुन तस्करीसँग सम्बन्धित मुद्दाको अन्तिम बहस जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासमा हुनेछ ।
आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान गरेर चारवटा शीर्षकमा २०७५ वैशाख १९ गते उच्च पदस्थ प्रहरीसहित ६३ जना विरुद्ध मुद्दा दायर भएको थियो ।
दुईपटक पुरक अभियोग मार्फत ७७ जनालाई प्रतिवादी बनाइएको छ । सो मुद्दामा १७ अर्ब एक करोड ८० लाख ७१ हजार चार सय रूपैयाँ बराबरको ३७ लाख ९९ हजार ५६३ ग्राम (करिब ३८ क्वीन्टल) सुन अवैध रुपमा आयात गरिएको दाबी गरिएको छ ।

प्रतिक्रिया