एकीकृत समाजवादीका नेताहरु भन्छन्, ‘एमालेसँगको विद्रोह बाध्यात्मक’
अखबार टुडे
प्रकाशित:
२०७८, ९ आश्विन

बागलुङ, ९ असोज । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका नेताहरूले एमाले पार्टीविरुद्ध विद्रोह गर्नु बाध्यतात्मक परिस्थितिको उपज भएको बताएका छन् । शनिबार एकीकृत समाजवादीको जिल्ला भेला तथा कमिटी घोषणा कार्यक्रममा उनीहरूले एमालेसँग विद्रोह गरेर कम्युनिष्ट आन्दोलनलाई पुर्नगठन र एकीकृत गर्न चुनौतीपूर्ण बाटो रोजेको दावी गरे ।

पार्टी केन्द्रीय उपाध्यक्ष एवं गण्डकी प्रदेश इञ्चार्ज केशवलाल श्रेष्ठले नेकपा एमाले दक्षिणपन्थी विर्सजन र राष्ट्रिय आत्मसर्मपणवादतिर गएकाले विद्रोहमार्फत नयाँ पार्टी गठन गर्नुपरेको बताए । उनले भने, ‘पार्टीभित्र सैद्धान्तिक, विचारधारात्मक र राजनीतिक समस्या देखियो । नवौँ महाधिवेशनका कार्यभारलाई नेतृत्वले पूरा नगरेपछि हामीले एमालेमा बसिरहनु उचित देखेनौँ ।’

एमाले निर्माणमा जीवनकाल बिताएका, रगत, पसिना बगाएका नेता÷कार्यकर्ताका लागि पार्टी छोड्नुपर्दा पीडा भएपनि विकल्पविहीन स्थितिमा विद्रोहमा जानुपरेको उपाध्यक्ष श्रेष्ठको भनाइ छ । उनले कम्युनिष्ट आन्दोलनको पुनःनिर्माण र एकीकरणको जगमा समाजवादको लक्ष्यमा पुग्न नसकेमा नयाँ पार्टी निर्माणको औचित्य पुष्टि नहुने उल्लेख गरे ।

पार्टीका केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठले एमालेसहित अन्य कम्युनिष्ट पार्टीसँग प्रतिस्पर्धा गर्दै नेकपा (एस)लाई श्रेष्ठता दिलाउनुपर्ने दायित्व आफूहरुमा आएको बताए । नयाँ पार्टी बनाउनु रहर नभई बाध्यता भएको उनको भनाइ छ । सदस्य श्रेष्ठले एमालेले कम्युनिष्ट सिद्धान्त र आदर्शलाई लत्याउँदै गएको आरोप लगाए ।

पूर्व उर्जाराज्यमन्त्रीसमेत रहेका एकीकृत समाजवादीका नेता रामजीप्रसाद शर्माले कमजोर हातले क्रान्तिको झण्डा उठाउन नसक्ने भन्दै आफूहरु समाजवादी क्रान्तिमा होमिएको बताए ।

नेता श्रीप्रसाद शर्माले वाम विचार राख्ने पार्टीहरु विकृत हुँदै गएकाले सिद्धान्तनिष्ठ कम्युनिष्ट पार्टी निर्माण र समाजवादी लक्ष्यका लागि पार्टीमा लामबद्ध हुन नेता, कार्यकर्तालाई आह्वान गरे । भेलाले लालबहादुर थापाको अध्यक्षतामा ७५ सदस्यीय जिल्ला किमिटी चयन गरेको छ ।

प्रतिक्रिया