हुवावे वित्तीय व्यवस्थापक मेङ रिहा
अखबार टुडे
प्रकाशित:
२०७८, ९ आश्विन

बेइजिङ, ९ असोज (एजेन्सी) । दुई जना क्यानेडियालीलाई चीनको जेलबाट मुक्त गरिएसँगै हुवावेका प्रमुख आर्थिक व्यवस्थापक मेङ वाङझाउलाई शनिबार वैंकूवरबाट घरतर्फ जान दिइएको छ ।

यससँगै तीन वर्षदेखि सम्बन्धलाई विषाक्त बनाउँदै आएको तीतो कूटनीतिक लडाईको अन्त्य भएको मानिएको छ । मेङ र भूतपूर्व कूटनीतिज्ञ माइकल कोभ्रिग र व्यवसायी माइकल स्पावर पक्राउ परेको तीन बर्षपछि आफ्नो देश फर्कने अनुमति पाएका छन् । आलोचकहरूले उनीहरूको सुरक्षा नियन्त्रणलाई ‘बन्धक कूटनीति’ भनेका छन् ।

चीनको विशाल दूरसञ्चार कम्पनी हुवावेका अरबपति संस्थापक रेन झेङफेईकी ४९ वर्षीया छोरी मेङलाई क्यानाडामा गिरफ्तारीपछि तीन वर्षसम्म एउटा घरमा नजरबन्दमा राखिएकोमा वैंकूवरको अदालतको सुनवाइपछि शनिबार रिहा गरिएको हो ।

उनलाई संयुक्त राज्य अमेरिकाले सुपुर्दगी गर्न भनेपछि उनले आफूले कम्पनी र आफू रहेको मुलुकको कानून अनुसार नै व्यवसायिक गतिविधिमा रहेकोले आफू निशर्त चीन फर्कन पाउनुपर्ने दावी गर्दै अदालतमा मुद्दा लड्दै आएको थियो ।

अमेरिकी अभियोक्ताहरूले उनीविरुद्ध ठगीको अभियोग निलम्बन गरेर अन्ततः हटाइने सम्झौता गरेको बताएको केही घण्टापछि उनलाई रिहा गरिएको हो । मेङको रिहाइपछि उनी तुरुन्तै चीनको शेन्जेन शहर जाने उडानमा चढ्ेको थियो । सन् २०१८ को डिसेम्बर १ मा अमेरिकी अधिकारीहरूको निर्देशनमा वैंकूवरको अन्तर्राष्ट्रिय विमानस्थलबाट उनी गिरफ्तार भएदेखि पहिलो पटक चीन फर्किएको हो ।

यसैबीच, क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले मेङको पक्राउको बदलामा पक्राउ परेका दुई क्यानेडियालीहरूले चिनियाँ हवाई आकाश काटिसकेका र घर फर्कंदै भएको जानकारी गराएको छ । ट्रुडोले ओटावामा भएको प्रेस सम्मेलनमा भने, ‘पत्याउनै नसकिने कठोर अनुभव’ उनीहरूले सामना गर्नुप¥यो ।’

अन्तरराष्ट्रिय सञ्चार माध्यमले उनीहरूलाई ‘दुई माइकल्स’ को संज्ञा दिएका थिए । ओटावाले जासुसी गरेको आरोपमा मेङलाई पक्राउ गरेको केही दिनपछि ती क्यानेडियाली नागरिकलाई चीनमा पक्राउ गरिएको थियो । बेइजिङले मेङको मुद्दालाई ‘एउटा विशुद्ध राजनैतिक घटना’ बताउँदै आएको थियो ।

चीन जानुअघि संवाददातासँग कुरा गर्दै मेङले भने, ‘विगत तीन वर्षमा मेरो जीवन उल्टो भएको छ । आमा, पत्नी वा मेरो कम्पनीको वित्तीय अधिकारीको हैसियतमा यो मेरो लागि तनावपूर्ण समय थियो ।’ उनले पछि आफ्नो विमानबाट चिनियाँ सामाजिक सञ्जालमा ‘पार्टी र सरकारलाई धन्यवाद’ दिँदै सन्देश पोस्ट गरेका छन् ।

प्रतिक्रिया