संयुक्त राष्ट्रसंघको महासभामा विश्वका नेताहरूले के भने ?
अखबार टुडे
प्रकाशित:
२०७८, ९ आश्विन

संयुक्त राष्ट्रसंघ, ९ असोज (एजेन्सी)। प्रत्येक वर्ष आयोजना हुने संयुक्त राष्ट्रसंघको महासभामा विश्वका नेताहरूले विश्व र आ–आफ्ना क्षेत्रसँग सम्बन्धित विषयलाई जोडतोडका साथ उठाउने गर्दछन् ।

प्रत्येक वर्ष यस्ता केही आवाजहरू हाबी हुने गर्दछन् र विश्व राजनीतिक मञ्चमा तरङ्ग समेत पैदा गर्दछन् । यहाँ एसोसिएटेड प्रेसले केही फरक आवाज र दृष्टिकोणलाई प्रस्तुत गरेको छ ।

महासभाको चौथो दिन शनिबार विभिन्न देशका नेतृत्व तहबाट यस्ता अभिव्यक्त विचारहरूले अखबारका पानाहरू रङ्गाएका छन् र नयाँ विचारलाई पस्केका छन् । यस्ता केही प्रतिनिधि विचारहरूलाई यहाँ प्रस्तुत गरिएको छ ।

महासभालाई सम्बोधन गर्दै बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले आप्रवासी कामदारको विषयलाई जोडतोडले उठाएको छ । उनी भन्छन् ‘आप्रवासीहरू महामारीको बेला स्वास्थ्य र अन्य आपतकालीन सेवाहरूमा अग्रपंक्तिमा खटिएर सेवा दिइरहेका छन् तर पनि उनीहरू मध्ये धेरैलाई जागिर गुमाउनु परेको छ, तलब कटौती को समस्या बेहोर्नु परेको छ, स्वास्थ्य र अन्य सामाजिक सेवाहरूमा पहुँचको अभाव भएको छ । अनि जबरजस्ती फिर्ताको कारणले कडा चोट बेहोरिरहेका छन् ।’

त्यसैगरी माल्टाका प्रधानमन्त्री रोबर्ट अबेलाले द्वन्द्व र यसको बालबालिका माथि पर्ने असरलाई विशेषरूपले उठाएको छ । ‘द्वन्द्वले धेरै मानिसहरूको जीवनलाई असर गर्छ जसका कारण हामी हजारौं बच्चाहरूलाई असफलता को बाटोमा डोराइरहेका छौँ। हामी उनीहरूलाई हिंसा, क्रूरता, हानीबाट, र उनीहरुको पूर्ण क्षमता साकार पार्नबाट जोगाउन असफल भएका छौं । हामी उनीहरूको बच्चा हुने अधिकारको समेत रक्षा गर्न असफल भएका छौँ ।’

जर्जियाका प्रधानमन्त्री इराक्ली गरिबाशभिल्ली विश्वभरमा प्रजातन्त्र संकटमा पर्दै गएको विषयलाई उठाएको छ । उनी भन्छन् ‘अन्तिम पटक जब हामी यहाँ संयुक्त राष्ट्र संघमा प्रत्यक्ष भेटेका थियौं, संसारभरिका प्रजातन्त्रहरू दबाबमा परेको अनुभूत गरेका थियौं र आज पनि तर्कहीन र अँध्यारो शक्तिहरू त्यस्मै व्यस्त छन् ।’

लक्जेबर्गका प्रधानमन्त्री जेभियर बेटेलको भने अलिक फरक टिप्पणी छ । उहाँका अनुसार यदि हामीसँग आशा र विश्वास छैन भने जनताले हरेक कुरामाथि विश्वास गर्न छोड्नेछन् ।

त्यसैगरी बेलिजका प्रधानमन्त्री जाँन ब्रेसिनोले भने अझ कडा टिप्पणी गर्दै भनेका छन् । ‘हामी सेप्टेम्बर २०२२ मा थप निष्क्रिय हुँदै अर्को वर्ष अरू शोक व्यक्त गर्न यस ठूलो हल मा नफर्कौं। एकपक्षीयता, राष्ट्रवाद, र असफल सामूहिक कारबाहीको विरोध गर्न यस हलमा कदापि नफर्कौं ।’

प्रतिक्रिया