काठमाडौं, ९ असोज । हरित सुरक्षित र दिगो विश्व निर्माणका लागि विश्वव्यापीरुपमा दिगो एवं नवीकृत साझेदारी अपरिहार्य भएकामा नेपालले जोड दिएको छ ।
उच्चस्तरीय ऊर्जा संवादलाई भिडियो सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले विशेष परिस्थितिमा रहेका देशलाई वित्त र प्रविधिमा सहज एवं प्रत्यक्ष पहुँच सुनिश्चित हुनुपर्नेमा जोड दिएका हुन् ।
दिगो विकासका लक्ष्य हासिल गर्न ऊर्जा अति महत्वपूर्ण भएको स्पष्ट पार्दै प्रधानमन्त्री देउवाले त्यसनिमित्त पेरिस सम्झौता कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याएको संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।
दिगो विकासको सातौँ लक्ष्य प्राप्तिमा मिश्रित एवं असमान ढङ्गले प्रगति भएको वास्तविकता प्रस्तुत गर्दै उहाँले छरिएका बस्ती, कठिन भौगोलिक भूभाग र न्यून आम्दानी भएका नेपालजस्ता देशमा कोभिड–१९ को महमारीले अतिरिक्त चुनौती थपिएको बताए ।
“यस्ता जटिल परिस्थितिको सामाना गर्दै हामीले स्वच्छ ऊर्जा उत्पादनको लक्ष्यलाई निरन्तर अघि बढाउनुपर्छ”, प्रधानमन्त्री देउवाले भन्नुभयो । अपार जलस्रोत र अन्य नवीकरणीय ऊर्जाको उपयोग गर्दै जलवायु परिवर्तन प्रतिरोधी विकासको पथमा अग्रसर हुने तथा वायु प्रदूषण शून्यमा झार्ने नेपालको प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।
जलवायु परिवर्तनका असरविरुद्ध लड्न, गरिबी घटाउन, लैङ्गिक समानता कायम गर्न, खाद्य सुरक्षा, स्वास्थ्य, शिक्षालगायत दिगो विकासका लक्ष्य हासिल गर्न ऊर्जाले उत्प्रेरक भूमिका निर्वाह गर्ने प्रधानमन्त्री देउवाले बताउनुभयो । उच्चस्तरीय संवादलाई धेरै देशका राष्ट्र प्रमुख, सरकार प्रमुख, मन्त्री, सांसद तथा राष्ट्रसङ्घका उच्च अधिकारीले सम्बोधन गर्ने कार्यक्रम रहेको नियोगले जनाएको छ ।