चीनमा क्रिप्टोकरेन्सीसम्बन्धी कारोबार अवैध : बिटकोइनको मूल्यमा गिरावट
अखबार टुडे
प्रकाशित:
२०७८, ८ आश्विन

काठमाडौं, ८ असोज । चीनको केन्द्रीय बैंकले क्रिप्टोकरेन्सीसम्बन्धी सबै कारोबार अवैध हुने घोषणा गरेको छ । योसँगै चीनले बिटकोइनजस्ता डिजिटल मुद्रामाथि प्रभावकारी प्रतिबन्ध लगाएको छ ।

‘भर्चुअल अर्थात् भौतिक अस्तित्वमा नभएका मुद्रासम्बन्धी सबै कारोबार अवैध आर्थिक गतिविधि हुन्’ पिपुल्स बैंक अफ चाइनाले भनेको छ । बिबिसीले उल्लेख गरेअनुसार त्यस्ता गतिविधि मानिसहरूका सम्पत्तिका लागि खतरनाक भएको चेतावनी समेत दिएको छ । चीन क्रिप्टोकरेन्सीका लागि विश्वका ठूलामध्ये एउटा बजार हो ।

चीनमा हुने घटबढले क्रिप्टोकरेन्सीको विश्वव्यापी मूल्यमा असर पर्ने गरेको थियो । चीनको पछिल्लो घोषणासँगै बिटकोइनको मूल्यमा दुई हजार डलरभन्दा बढीले गिरावट आएको छ ।

आधिकारिक रूपमा चीनमा क्रिप्टोकरेन्सीसम्बन्धी कारोबार सन् २०१९ देखि प्रतिबन्धित भए पनि अनलाइनमार्फत् विदेशी विनिमय जारी रहँदै आएको छ ।
यद्यपि यो वर्ष ठूलो कारबाही गरिएको छ । शुक्रबार केन्द्रीय बैंकले गरेको घोषणाबाट चीनले क्रिप्टोकरेन्सीसम्बन्धी सबै स्वरूपका कारोबार बन्द गर्न चाहेको स्पष्ट संकेत गरेको बताइएको छ ।

प्रतिक्रिया