कठोर सजायहरू फेरि सुरु हुने तालिबान अधिकारीको चेतावनी
अखबार टुडे
प्रकाशित:
२०७८, ८ आश्विन

काबुल, ८ असोज (एजेन्सी) । अफगानिस्तानमा तालिबानको धार्मिक प्रहरीका एक कुख्यात पूर्वप्रमुखले कट्टर इस्लामी कानुनहरू लागू गरिने चेतावनी दिएका छन् ।
तालिबानका संस्थापकमध्ये एक र प्रमुख कानुन कार्यान्वयनकर्तासमेत रहेका मुल्लाह नूरुद्दिन टुराबीले अफगानिस्तानमा फेरि मृत्युदण्ड दिने र अङ्ग काट्नेजस्ता सजाय सुरक्षाका लागि आवश्यक भएको बताएका छन् ।
एसोसिएट्स प्रेस (एपी)सँगको अन्तर्वार्ताको क्रममा उनले अफगानिस्तानको नयाँ शासनमा कुनै किसिमको हस्तक्षेप नगर्न अन्तर्राष्ट्रिय समुदायलाई पनि चेतावनी दिएका छन् ।
तर त्यस्ता सजायहरूको कार्यान्वयन विगतमा जस्तो सार्वजनिक स्थलहरूमा नगरिने उनले बताएका छन् । सन् १९९० को दशकमा तालिबानले आफ्नो शासनकालमा त्यस्ता सजायहरू सार्वजनिक स्थलहरूमा दिने गरेको थियो ।
गएको अगस्ट १५ मा अफगानिस्तानमाथि कब्जा लिएयता तालिबानले विगतको भन्दा नरम शासन गरिने बताउँदै आए पनि देशभरि मानव अधिकार उल्लङ्घन भएका भनिएका थुप्रै घटनाहरू बाहिर आइरहेका छन् ।
हेरातमा प्रतिष्ठित महिलाहरू, घरबाहिर हिँडडुल गर्न पाउने स्वतन्त्रता पक्षधर र पोशाकसम्बन्धी नियम पालना गर्न अस्वीकार गर्ने महिलाहरूको खोजी गर्दै तालिबान लडाकुहरू हिँडेको पाइएको अधिकारवादी संस्था ह्युमन राइट्स वाचले बिहीवार जनाएको थियो ।

प्रतिक्रिया