काठमाडौं, ८ असोज । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत गाउँ÷नगर अधिवेशन यही असोज ९ गते देखि प्रारम्भ गर्ने निर्णय गरिएको छ ।
कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा शुक्रबार बसेको बैठकले वडा अधिवेशन सम्पन्न भएका ६४ जिल्लामा शनिबारदेखि गाउँ÷नगर अधिवेशन प्रारम्भ गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
ती जिल्लामा दशैँ अघिसम्म पालिका अधिवेशन मात्र सम्पन्न हुनेछन् । हिमाली जिल्लामा भने पूर्वनिर्धारित कार्यतालिका अनुसार जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय भएको उनले बताए । बैठकमा वडा अधिवेशन हुन बाँकी १३ जिल्लाको क्रियाशील सदस्यता विवाद शीघ्र टुङ्ग्याएर वडा अधिवेशन प्रारम्भ गर्ने सहमति भएको छ ।
कांग्रेसको वडा अधिवेशन गत भदौ १८ गतेदेखि प्रारम्भ भएको हो । कांग्रेसले यसअघि ६४ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको छ । प्रदेश नं २ का आठ जिल्ला तथा सुर्खेत, डोल्पा, रसुवा, रुपन्देही र कैलाली गरी १३ जिल्लाको क्रियाशील सदस्यतामा देखिएको केही विवादका कारण विवरण अझै सार्वजनिक हुन सकेको छैन ।