नेपाल खबर

गृहमन्त्री खाँणले भने, ‘कालोबजारी गरिएको पाइए कारबाही’

काठमाडौं, ७ असोज । गृहमन्त्री बालकृष्ण खाँडले चाडबाडमा हुने गैरकानूनी क्रियाकलाप नियन्त्रण गर्दै आपूर्ति व्यवस्थापनलाई चुस्त बनाउन निर्देशन दिएका छन् ।

बिहीबार गृह मन्त्रालयमा आयोजित चाडपर्व लक्षित बजार अनुगमनसम्बन्धी बैठकमा मन्त्री खाँडले कालोबजारी, म्याद गुज्रेका खाद्य सामग्री र औषधि बिक्रीवितरण हुनसक्नेतर्फ ध्यानाकर्षण गराउँदै त्यस्ता गतिविधिमा संलग्न व्यक्तिलाई कानूनअनुसार कारबाही गर्न पनि निर्देशन दिएका हुन् ।

‘नागरिकको जीवन रक्षा र हितका लागि काम गर्नु राज्यको पहिलो दायित्व हो, त्यो दायित्व पूरा गर्न हामी प्रतिबद्ध छौँ’, मन्त्री खाँडले मातहतका अधिकारीलाई निर्देशन दिँदै भने, ‘म्याद गुज्रेका औषधि र खाद्य सामग्री बिक्रीवितरण गरेको पाइएमा हामी कानूनअनुरुरूप अगाडि बढ्नुपर्छ, त्यस विषयमा ध्यान दिनुहोला ।’

आपूर्ति व्यवस्थापन, बजार अनुगमन र व्यवस्थापन तथा यातायात व्यवस्थापनसम्बन्धी बोलाइएको बैठकमा उपभोक्ता अधिकारकर्मी, यातायात व्यवसायी, उद्योगी व्यवसायी र सरकारी तथा सुरक्षा निकायका अधिकारीको सहभागिता थियो । बैठकमा मन्त्री खाँडले म्याद गुज्रेका सामग्री बेच्दा घुमीफिरी आफ्नै भान्सामा आइपुग्नेतर्फ पनि ध्यान दिन आग्रह गरे ।

चाडपर्वमा अन्य बेलामा भन्दा कम नाफा लिएर धेरै वस्तु सुपथ मूल्यमा बेच्न पनि व्यवसायीलाई उनले आग्रह गरे । मन्त्री खाँणले भने, ‘सुपथ मूल्यमा बेचेर उपभोक्तालाई राहत दिनुस् भन्ने मेरो आग्रह छ, बढी मूल्यमा बेचेको पाइएमा सरकारी निकाय कानूनअनुरूप अगाडि बढ्छ ।’

यस्तै, बर्सातका समयमा बिग्रिएका मुलुकका विभिन्न स्थानका सडक दसैँ अगाडि मर्मत गर्न प्रधानमन्त्रीसँग कुरा राखेर पहल गर्ने उनले बताए । जनताको सुरक्षाका लागि सरकारले आफ्नो दायित्व कुनै पनि अवस्थामा पूरा गर्न प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

गृहसचिव टेकनारायण पाण्डेले चाडपर्वमा बजार व्यवस्थापनमा त्रिपक्षीय सम्बन्ध जरुरी रहेको उल्लेख गर्दै बजार प्रणालीबाट जनस्वास्थ्यमा खेलबाड गर्न नपाइनेतर्फ सचेत गराए । बजारमा खेलबाड गर्न नदिन गृहमन्त्रालय प्रतिबद्ध रहेको उनले बताए ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले चाडपर्वका बेला म्याद सिद्धिएका खाद्य सामग्री बिक्री वितरण गरेको पाइएमा कडा कारबाही गर्न मातहतका निकायलाई निर्देशन दिएको जानकारी दिए ।

असोज ११ देखि दसैँका लागि टिकट बिक्री

बैठकमा उपत्यका ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई र यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुसालले दसैँमा सार्वजनिक सवारी साधन कसरी सञ्चालन गर्ने भनेर अहिलेसम्म भएका तयारीबारे जानकारी गराएका थिए ।

प्रवक्ता भुसालले यही असोज ११ गतेदेखि दसैँका लागि अग्रिम टिकट बिक्री खुला गर्ने र १४ स्थानमा यात्रु सहायता कक्ष राख्ने निर्णय भएको बताए । बसको टिकट अनलाइनमा काट्ने व्यवस्था मिलाउन प्रयास भइरहेको पनि उहाँले जानकारी दिए ।

Click to comment
To Top