नाइजेरियामा हैजा कारण ३२९को मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७८, ७ आश्विन

लागोस, ७ असोज (एजेन्सी) । नाइजेरियामा गएको मार्च महिनादेखि सुरु भएको हैजाको प्रकोपका कारण कम्तीमा पनि ३२९ जनाको ज्यान गएको नाइजेरियाका एकजना स्वास्थ्य अधिकारीले आज जानकारी दिएका छन् ।
ती अधिकारीले नाइजेरियाको उत्तरी कानो राज्यमा हैजाबाट ती व्यक्तिहरुको ज्यान गएको बताएका हुन् ।
सो राज्यका स्वास्थ्य अधिकारी सुलेइमान इस्लियाका अनुसार उक्त राज्यका कम्तीमा पनि ४४ स्थानीय तहमा हैजाको प्रकोप फैलिएको थियो । त्यसमा परेर ती व्यक्तिहरुको ज्यान गएको र अरु कैयौँ विरामी परेका उनले जानकारी दिएका छन् ।
ती स्थानीय निकायहरुमा ११ हजार ११५ जनामा हैजा फैलिएको आशंका गरेर परीक्षण गरिएको थियो । तीमध्ये स्वास्थ्य परीक्षणमा धेरै निको भएका थिए ।
अहिले पनि ३१ जना हैजा लागेको पुष्टि भएका व्यक्ति अस्पतालमा उपचार गराइरहेका बताइएको छ । हाल हैजाको प्रकोप देखिएका स्थानहरुमा स्वास्थ्य निगरानी राखिएको बताइएको छ ।

प्रतिक्रिया