दल विभाजनसम्बन्धी अध्यादेश प्रतिस्थापन विधेयक ल्याउने तयारी
अखबार टुडे
प्रकाशित:
२०७८, ६ आश्विन

काठमाडौं, ६ असोज । सरकारले दल विभाजनसम्बन्धी अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने तयारी गरेको छ । राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न ल्याएको अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने तयारी गरिएको नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

बुधबार माओवादी केन्द्रको स्थायी समिति बैठकपछि पत्रकारसँग कुरा गर्दै महराले अध्यादेशको विषय बिहीबार टुंगो लाग्ने बताए । सरकारले दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलका ४० प्रतिशत सदस्यको समर्थन आवश्यक पर्ने व्यवस्था अध्यादेशमार्फत संशोधन गरी केन्द्रीय समिति वा संसदीय दलको २० प्रतिशत भए पुग्ने बनाएको थियो । उक्त व्यवस्थाअनुसार नेकपा एमाले विभाजन गरी माधवकुमार नेपालसहितका नेताले नेकपा एकीकृत समाजवादी गठन गरेका छन् ।

साथै, भोली मन्त्रिपरिषद विस्तार हुने उनले बताए । बुधबार सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताको बैठक बस्ने र त्यसले मन्त्रालय भागवण्डा टुंग्याउने बताउँदै महराले भने, ‘अध्यादेशको कारणले डिले भएको थियो । अब त्यो काम करिब करिब सिद्धियो । आज र भोलिसम्म सरकार विस्तारको कम सिद्धिन्छ ।’

प्रतिक्रिया