गच्छदारले भने, ‘मेरो राजनीतिक चरित्र समाप्त गर्ने षड्यन्त्र भयो’
अखबार टुडे
प्रकाशित:
२०७८, ६ आश्विन

काठमाडौं, ६ असोज । नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारले बालुवाटारको ललिता निवास प्रकरणमा आफ्नो संलग्नता नभएको स्पष्ट पारेका छन् । उपसभापति समेत रहेको गच्छदारले सो जग्गा प्रकरणमा आफूले भ्रष्टाचार नगरेको दावी गर्दै सत्यतथ्य बाहिर ल्याइदिन सञ्चारमाध्यमलाई आग्रह समेत गरे ।

बुधबार पत्रकार सम्मेलन गरी सरकारको योजना कार्यान्वयन गर्न प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारमा विभागीय मन्त्रीको हैसियतले आफूले टिप्पणीमात्र अघि बढाएको बताए । उनले भने, ‘सरकारको गुरुयोजना कार्यान्वयन गर्न प्रधानमन्त्रीको निर्देशनअनुसार उक्त फायल अघि बढेको हो । त्यो प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको हो ।’

नेता गच्छदारले ललिता निवास प्रकरणमा आफूमाथि राजनीतिक प्रतिशोध साँधेर अख्तियार दुरुपयोग अनुसन्धानले विशेष अदालतमा मुद्दा दायर गरेको दावी गर्दै यसक्रममा मुद्दा चलाउँदा निष्पक्ष नभएको बताए । ‘छानीछानी मुद्दा चलाइएको छ । काखा र पाखा गरिएको छ’ उनले भने, ‘राजनीतिक पूर्वाग्रहका आधारमा मेरो राजनीतिक चरित्र समाप्त गर्ने षड्यन्त्र भएको छ ।’

गच्छदारले आफू लोकतन्त्रप्रति विश्वास राख्ने भन्दै स्वतन्त्र र निष्पक्ष न्याय पाउनेमा आफू आशावादी रहेको बताउँदै भने, ‘कुत्सित भावना र राजनीतिक जीवन समाप्त पार्ने उद्देश्यले म माथि मुद्दा दायर गरिएको छ । म माथि लगाइएका आरोपहरू षड्यन्त्र हुन् भन्ने पुष्टि हुँदै जानेछ ।’

प्रतिक्रिया