सबै मुलुकसँग सुमधुर एवं सन्तुलित सम्बन्ध कायम हुन्छ : परराष्ट्रमन्त्री खड्का
अखबार टुडे
प्रकाशित:
२०७८, ६ आश्विन

काठमाडौं, ६ असोज । परराष्ट्रमन्त्री डा नारायण खड्काले नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर छिमेकी राष्ट्र चीन र भारतसहित विश्वका सबै मुलुकहरुसँग सुमधुर एवं सन्तुलित सम्बन्ध कायम गरिने जानकारी दिएका छन् ।

सोमबार अपराह्न पदबहाल गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सो कुरा बताएका हुने् । उनले भने, ‘नेपालको राष्ट्रिय हित र स्वार्थ प्रवद्र्धन गर्न सबै राजनीतिक दलसँग विचार विमर्श गरी अघि बढ्नेछौँ । सबै राजनीतिक दलहरुको सहमतिका आधारमा मुलुकको परराष्ट्र नीति सञ्चालन गरिनेछ ।’

वर्तमान विश्व परिवेशमा बाह्य सम्बन्ध सहज, सुदृढ एवम् सुमधुर बनाउन आवश्यक भएको र अहिले दक्षिण एसिया अन्तर्राष्ट्रिय समुदायको दृष्टिमा रहेको चर्चा गर्दै परराष्ट्र मन्त्रालयलाई अझ गतिशील आधुनिक प्रविधियुक्त बनाउन हरसम्भव प्रयास गर्ने प्रतिबद्धता मन्त्री खड्काले व्यक्त गरे ।

उनले चीनले अघि सारेको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’, अमेरिकी अनुदान सहायता ‘मिलिनियम कर्पोरेसन च्यालेन्ज (एमसिसी)’ र हिन्द–प्रशान्त रणनीतिको अध्ययन गरिने र नेपालको राष्ट्रिय हितविरुद्ध कुनै किसिमको सम्झौता नगरिने स्पष्ट पारे ।

आजै साँझ संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्कतर्फ प्रस्थान गर्ने र त्यहाँ रहँदा विभिन्न देशका समकक्षीहरुसँग द्विपक्षीय भेटवार्ता गर्ने पनि जानकारीदिए । साथै उनले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मुलुकका विदेशमन्त्रीहरुसँग छलफल गर्ने जानकारी दिँदै यस्ता भेटघाट देशका हित प्रवद्र्धनका साथै कूटनीतक सम्बन्ध विस्तार गर्न सहयोगी हुने बताए ।

प्रतिक्रिया