बाम लोकतान्त्रिक गठबन्धन आगामी निर्वाचनसम्म : अध्यक्ष नेपाल
अखबार टुडे
प्रकाशित:
२०७८, ५ आश्विन

काठमाडौं, ५ असोज । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले २०७७ फागुन ११ गतेको सर्वोच्च अदालतको फैसलापछि एमाले अध्यक्ष्न केपी शर्मा ओलीले अनेकौँ तानाबानाहरु बुन्न थालेको बताएका छन् ।

मंगलबार सुरु भएको नेकपा एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकमा अध्यक्ष नेपालले पेस गरेको राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘२०७७ फागुन ११ गतेको उक्त फैसलाबाट रन्थनिएका केपी ओलीले पुनः षडयन्त्रका अनेकौँ तानाबाना बुन्न थाले । त्यसैबीच २०७७ फागुन २३ गते सर्वोच्च अदालतले वादीद्वारा माग नै नगरेको विषयमा प्रवेश गरी २०७५ जेठ ३ गते भएको पार्टी एकता खारेज गर्दै एकताबद्ध भएका दुवै पार्टीलाई पूर्ववत् अवस्थामा अर्थात् २०७५ जेष्ठ २ गतेको अवस्थामा फर्काउने फैसला ग¥यो ।’

अध्यक्ष नेपालले भनेका छन्, ‘२०७७ फागुन २३ गतेको अदालती फैसला बमोजिम नेकपा एमाले २०७५ जेष्ठ २ गते जुन अवस्थामा थियो, त्यही अवस्थाबाट अगाडि बढ्नुपर्दथ्यो । हामीले पार्टी एकता कायम राख्नका निम्ति उपरोक्त बमोजिम हुनुपर्छ भन्ने अडान राख्यौँ । तर केपी ओलीको दक्षिणपन्थी एवं विसर्जनवादी सोच र सिङ्गो पार्टी कब्जा गरी आफ्नो एकलौटी वर्चस्व कायम गर्ने चाहनाले गर्दा नेकपा (एमाले)को एकता जोगाउने होइन त्यसलाई विघटनको दिशामा नै लैजाने काम भयो ।’

अध्यक्ष नेपालले ओलीले २०७७ फागुन २८ गते केन्द्रीय कमिटीका सबै सदस्यहरूलाई खबरै नगरी पार्टी विधान, पार्टीमा स्थापित विधि र पद्धति विपरीत ‘केन्द्रीय कमिटीको विशेष बैठक’ भन्ने नाम दिएर पार्टीभित्रको आफ्नो गुटको मात्र बैठक गरी नेकपा (एमाले)को नवौँ महाधिवेशनका निर्णयहरू उल्टाएको बताएका छन् ।

अध्यक्ष नेपालले महाधिवेशनबाट पारित पार्टी विधानमा संशोधन गर्ने, महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरूको पद खारेज गर्ने, पार्टी सदस्य नै नरहेका व्यक्तिहरूलाई केन्द्रीय कमिटीमा राख्ने, आफ्नो इच्छा अनुसारको संख्याको केन्द्रीय कमिटी बनाउने जस्ता ओलीको निर्णयले एमालेलाई विभाजनको दिशामा धकेलिदिएको बताएका छन् ।

उनले भनेका छन्, ‘पार्टीमा गम्भीर सङ्कट उत्पन्न भयो । त्यस प्रकारको सङ्कट उत्पन्न भएपछि केपी ओलीको गुटबन्दी, स्वेच्छाचारी प्रवृत्ति, व्यक्तिवादी अहङ्कारवाद र दक्षिणपन्थी अवसरवादका विरुद्ध विद्रोह गर्नैपर्ने स्थिति उत्पन्न भयो । हामीले कम्युनिस्ट पार्टी र आन्दोलनलाई विसर्जनको दिशामा जानबाट रोक्नका निम्ति पुनः सङ्गठित भएर क्रियाशील भई पार्टी र आन्दोलनलाई अगाडि बढाउनु आफ्नो कर्तव्य र जिम्मेवारी ठान्यौँ ।’

मंगलबारदेखि शुरु भएको नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकमा १२ पृष्ठको संक्षिप्त राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष नेपालले अहिलेको वाम लोकतान्त्रिक गठबन्धनलाई आगामी चुनाबसम्म लानुपर्ने बताएका छन् ।

अध्यक्ष नेपालद्वारा प्रस्तुत प्रतिवेदनमा भनिएको छ, ‘अहिलेको हाम्रो एउटा महत्वपूर्ण राजनीतिक कार्यभार हाल कायम वाम लोकतान्त्रिक गठबन्धनलाई कम्तिमा पनि वर्तमान प्रतिनिधिसभाको पूर्ण कार्यकाल र आगामी निर्वाचनसम्म टिकाउनु र सहमति एवं सहकार्यको आधारमा सरकार सञ्चालन गरी आम जनतालाई सेवा प्रदान गर्नु हो ।’

प्रतिवेदनमा भनिएको छ, ‘दुई पार्टीको सहमतिका आधारमा मुलुकको प्रधानमन्त्री बन्न पुगेका केपी ओलीको दक्षिणपन्थी चिन्तन, सत्ता लिप्सा र लोकतन्त्र विरोधी, स्वेच्छाचारी एवं सर्वसत्तावादी चरित्र र गफाडी, अहंकारी र दम्भी स्वभावले गर्दा कसैसँग मिल्न नसकी मुलुकको राजनीतिक स्थिरता नै खल्बलियो ।’

प्रतिक्रिया