ओली सरकारले नियुक्त गरेका सबै राजदूत फिर्ता बोलाउने मन्त्रिपरिषदको निर्णय
अखबार टुडे
प्रकाशित:
२०७८, ५ आश्विन

काठमाडौं, ५ असोज । सरकारले राजनीतिक नियुक्ति गरिएका सबै राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो ।

सरकारका प्रवक्ता तथा कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार तत्कालीन अर्थात अघिल्लो सरकारले राजनीतिक रुपमा नियुक्त गरिएका राजदूतहरुलाई फिर्ता लिने निर्णय भएको हो ।

सरकारको यो निर्णयसँगै भारत, चीन, अमेरिका, बेलायत, जापानलगायतका देशमा रहेका राजदूत फिर्ता भएका छन् । हाल भारतमा निलाम्बर आचार्य, अमेरिकामा डा. युवराज खतिवडा, चीनमा महेन्द्रबहादुर पाण्डे, बेलायतमा लोकदर्शन रेग्मी र जापानमा प्रतिभा राणा राजदूत छन् ।

राणा प्रधानमन्त्री शेरबहादुर देउवाकी सासु हुन् । यी सबै राजदूत अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा नियुक्त भएका हुन्
यस्तै, सल्लीसल्ला– सिमिकोट खण्डको डुल्लीकुनादेखि लालीबगर सडकखण्डको ७ किमी र लैफुबद्री गाउँदेखि हुक्का खोलासम्म १३.५ किमी सडकखण्डको ट्रयाक निर्माण कार्यको ठेक्का नेपाली सेनालाई दिने सरकारले निर्णय गरेको छ ।

साथै, कोभिड–१९ संकट व्यवस्था गर्न बनेको विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति प्रदान गर्ने, औषधि ऐन, २०३५ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेस गर्ने पनि आजको मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।
कोभिड–१९ व्यवस्था २०७८ स्वीकृत गर्ने सम्बन्धमा संयुक्त राष्ट्र सङ्घको ७६औँ महासङ्घको सभामा भाग लिन जाने प्रतिनिधि मण्डल गठन गर्ने पनि सरकारले निर्णय गरेको कार्कीले जानकारी दिए ।

प्रतिक्रिया