गस्तीमा खटिएका शसस्त्र प्रहरीमाथि भारतीय तस्करद्वारा आक्रमण, तीन घाइते
अखबार टुडे
प्रकाशित:
२०७८, ५ आश्विन

धनगढी, ५ असोज । भारतीय तस्कर समूहको आक्रमणबाट नेपालका तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् । सोमबार साँझ ८ बजेतिर कन्चनपुरको दोधाराचाँदनी नगरपालिका–८ को कञ्जभोजनजिकै सीमा क्षेत्रमा गस्तीमा खटिएका सशस्त्र प्रहरीको टोलीमाथि भारतीय तस्करको समूहले आक्रमण गरेका थिए ।

आक्रमणबाट सशस्त्र प्रहरीको बीओपी कञ्जभोजमा कार्यरत तीन जना जवान समान्य घाइते भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ नम्बर गण शैलेश्वरीले जनाएको छ । घाइतेहरुको दोधाराचाँदनीस्थित स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

नेपालतर्फ विभिन्न समान तस्करी भइरहेको अवस्थामा सशस्त्र प्रहरीको गस्ती टोलीसँग भेट हुँदा एक्कासी उनीहरुले ढुङ्गामुढा गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र ऐरले जानकारी दिएका छन् ।

उनका अनुसार तस्करको समूहलाई नियन्त्रणमा लिने प्रयास गरे पनि ३०÷४० मिटरनजिकै भारतीय भूमि भएकाले उनीहरु भाग्न सफल भएको थिए । उनले भने, ‘नियन्त्रणमा लिने कोसिस गर्दा उनीहरु भागेर भारतीय भूमिमै प्रवेश गरेपछि एसएसबी र भारतीय प्रहरीलाई जानकारी गराएका थियौँ । तत्कालै एसएसबी र भारतीय प्रहरी घटनास्थल पुगेको थियो ।’ नेपाल–भारत सीमा क्षेत्रमा बेलाबखत गस्तीमा खटिएका सुरक्षाकर्मीमाथि तस्करको समूहबाट आक्रमण हुँदै आएको छ ।

प्रतिक्रिया