त्रिदेशीय सम्झौताले उत्पन्न विवादका कारण फ्रान्सद्वारा बेलायतसँगको रक्षावार्ता रद्द
अखबार टुडे
प्रकाशित:
२०७८, ५ आश्विन

काठमाडौं, ५ असोज। बेलायत, अमेरिका र अस्ट्रेलियाबीच भएको नयाँ रक्षा सम्झौता ‘ओकस’ लाई लिएर भइरहेको विवादका बीच फ्रान्सकी रक्षा मन्त्री फ्लोरेन्स पार्लीले ब्रितानी समकक्षीसँग हुने एउटा वार्ता रद्द गरेको छ ।
अस्ट्रेलियाले परमाणु ऊर्जाबाट चल्ने पनडुब्बी बनाउने विषयमा फ्रान्ससँगको सम्झौताबाट पछि हटेर ओकस भनिने नयाँ सम्झौतामा हस्ताक्षर गरेपछि फ्रान्स क्रुद्ध बनेको छ । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले ओकस सम्झौतालाई लिएर फ्रान्सले कुनै चिन्ता गर्नुपर्ने कारण नभएको बताएको छ ।
तर फ्रान्सको रक्षा मन्त्रालय फ्लोरेन्स पार्लीको बेलायतका रक्षा मन्त्री वेन वालेससँग यही हप्ता लन्डनमा तय गरिएको बैठक रद्द गरिएको छ । फ्रान्सका लागि बेलायतका पूर्वराजदूत लर्ड रिकेट्स पनि दुई दिनसम्म हुने यस बैठकमा सहभागी हुने बताइएको थियो ।
गएको हप्ता ओकास सम्झौताको घोषणा गरिएको थियो । यस सम्झौतालाई दक्षिण चीन समुद्रमा चीनको बढ्दो प्रभावलाई रोक्ने कोसिसका रूपमा लिइएको छ ।
त्यस सम्झौताले सन् २०१६ मा अस्ट्रेलियाले फ्रान्ससँग १२ वटा परम्परागत पनडुब्बी बनाउन गरेको ३७ अर्ब अमेरिकी डलर बराबरको सम्झौता अन्त्य गर्नेछ ।

प्रतिक्रिया