सूचना प्रविधि : गुगलले ल्याउन लागेको फोल्डेबल स्मार्टफोन कस्तो होला ?
अखबार टुडे
प्रकाशित:
२०७८, ४ आश्विन

काठमाडौं, ४ असोज । केही वर्ष अगाडि नै गुगल कम्पनीले एक फोल्डेबल स्मार्टफोन बजारमा ल्याउने संकेत दिएको थियो । तर, हालसम्म प्रयोगकर्ताले गुगलको फोल्डेबल फोन देख्न पाएका छैनन् । अहिले फेरि गुगलले फोल्डेबल फोनका बारेमा नयाँ जानकारी दिएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार गुगलले यो वर्ष सन् २०२१ को अन्त्यसम्ममा आफ्नो पहिलो फोल्डेबल फोन सार्वजनिक गर्ने तयारी गरिरहेको छ । गुगलको पहिलो फोल्डेबल स्मार्टफोनको नाम गुगल पिक्सेल फोल्ड रहने बताइएको छ ।

गुगलको पिक्सेल फोल्डले फोल्डेबल स्मार्टफोन बजारमा एकाधिकार जमाइरहेको अग्रणी कम्पनी सामसुङलाई टक्कर दिने विश्वास गरिएको छ । यद्यपि, गुगलले आफ्नो उक्त पिक्सेल स्मार्टफोनका बारेमा आधिकारिक रुपमा केही बताएको छैन ।

गुगलको फोल्डेबल फोनमाLTPO-Low-temperature polycrystalline oxide OLED डिस्प्ले हुने बताइएको छ ।
स्मार्टफोनको डिस्प्ले सप्लाई चेन कन्सल्टेन्ट्स नामक संस्थाका वरिष्ठ उपाध्यक्ष डेभिड नारन्जाले ट्वीटमार्फत् गुगल पिक्सेल फोल्ड स्मार्टफोन सन् २०२१ को चौथो त्रैमासिक सम्ममा बजारमा आउनसक्ने बताएका छन् ।

उनले हालै गरेको एक ट्वीटमा निकट भविष्यमा बजारमा आउने भनिएका LTPO डिस्प्लेयुक्त डिभाइसहरुको सूची समावेश थियो, जसमा गुगल पिक्सेल फोल्ड पनि उल्लेख रहेको छ । यसअघि गतवर्ष गुगलले Passport नामको फोल्डेबल स्मार्टफोन उत्पादनको तयारी गरिरहेको खबर सार्वजनिक भएको थियो ।

प्रतिक्रिया