‘अकस’ सम्झौताले देशको सुरक्षामाथि असर देखिए उपाय खोजने उत्तर कोरियाको चेतावनी
अखबार टुडे
प्रकाशित:
२०७८, ४ आश्विन

काठमाडौं, ४ असोज (एजेन्सी) । अस्ट्रेलियालाई आणविक पनडुब्बी निर्माणका लागि प्राविधिक सहयोग गर्ने विषयमा अमेरिका, बेलायत र अस्ट्रेलियाबीच भएको ‘अकस’ सम्झौताको विरोधमा उत्तर कोरिया पनि उभिएको छ ।
यसअघि चीनले उक्त सम्झौताको विरोध जनाएको थियो भने फ्रान्स रुष्ट भएका छन् । उत्तर कोरियाले अमेरिकाको आलोचना गर्दै उक्त सम्झौताका कारण उत्तर कोरियाको सुरक्षामाथि असर परेको र यसविरुद्ध कुनै उपाय खोजिने चेतावनी दिएको छ ।

उत्तर कोरियाको सरकारी मिडियाले विदेश मन्त्रालयका एक नाम नखुलाइएका अधिकारीलाई उद्धृत गर्दै सोमबार एक बयान जारी गरेको छ जसमा अमेरिका, बेलायत र अष्ट्रेलियाबीच भएको यो सम्झौतालाई ‘निकै खतरनाक कारवाही’ बताएका छन् । यसले एशिया–प्रशान्त क्षेत्रमा सुरक्षा सन्तुलन नष्ट गरिदिनेछ र ‘हतियारको दौड’ लाई प्रोत्साहन दिने पनि उनले बताएका छन् ।

अधिकारीका अनुसार उत्तर कोरियाले यो सम्झौतामाथि निकै सूक्ष्म ढङ्गले निगरानी गरिरहेको र यदि यसमा उसको देशको सुरक्षामा अलिकति पनि नकारात्मक असर देखिए आफूहरुले यसविरुद्ध कडा कारवाही गर्नेछ । यसलाई उत्तर कोरियाले घातक र खतरनाक भनेर विरोध जनाएको छ ।

जो बाइडेनले अघिल्लो शुक्रबार अष्ट्रेलिया र बेलायतसँग एक सुरक्षा सम्झौताको घोषणा गरेको थियो जसलाई अकस भनिन्छ । यसअन्तर्गत अष्ट्रेलियालाई कम्तीमा आठ परमाणु ऊर्जाद्वारा सञ्चालित पनडुब्बी दिइनेछ ।

‘अकस’ नाम दिइएको सो सम्झौताको मुख्य उदेश्य दक्षिण चीन सागरमा चीनको प्रभाव न्युन गर्न रहेको विश्लेषण भइरहेको छ । यसकारण चीन पनि रिसाएको छ । यस्तै, यो सम्झौताले फ्रान्सले अष्ट्रेलियालाई १२ पारम्परिक पनडुब्बी दिने सम्झौता पनि नष्ट पारिदिएको छ । यसकारण फ्रान्स पनि अमेरिका र अष्ट्रेलियासँग रुष्ट छ ।

प्रतिक्रिया