प्रतिनिधिसभामा आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक स्वीकृत
अखबार टुडे
प्रकाशित:
२०७८, ४ आश्विन

काठमाडौं, ४ असोज । प्रतिनिधिसभामा दुई वटा विधेयक स्वीकृत गरेको छ । सोमबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको ‘आर्थिक विधेयक, २०७८’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७८’ बहुमतले स्वीकृत गरेको हो ।
आर्थिक विधेयकमाथिको दफावार छलफलका लागि सभामुख अग्निप्रसाद सापकोटाले यही असोज ७ गतेका लागि छलफलको मिति तोकेको छ ।
बैठकमा प्रस्तुत विधेयक उपरको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको अर्थमन्त्री शर्माले जवाफ दिएको थियो । उनले राजस्वमा आधारित अर्थतन्त्रलाई उत्पादनमूलक अर्थतन्त्रमा परिमार्जन गर्दै लगिने सरकारको नीतिअनुरुप बजेटमा सामान्य हेरफेर गरिएको जानकारी दिए ।
अर्थमन्त्री शर्माले देशको अर्थतन्त्रलाई मजबुद तुल्याउन कृषि, उद्योग प्रवद्र्धनका विषयलाई विधेयकले सम्बोधन गरेको बताए । यसअघि विनियोजन विधेयकलाई पारित गर्नुपूर्व सांसद प्रेम सुवालले राखेको खर्च कटौतीको प्रस्तावलाई बहुमतले अस्वीकृत गरेको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही असोज ७ गते अपराह्न २ः०० बजे बस्नेछ ।

प्रतिक्रिया