विश्व

पनडुब्बी विवादबारे बाइडेन र म्याक्रोबीच छिट्टै वार्ता हुने

काठमाडौं, ४ आसेज (एजेन्सी) ।अमेरिकी राष्ट्रपति जो बाइडेन र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोबीच केही दिनमा पनडुब्बी सम्झौताका कारण निम्तिएको तनावबारे फोन वार्ता हुने फ्रान्सेली सरकारका प्रवक्ताले आइतवार बताएको छ ।

यो घोषणा फ्रान्सले वाशिङ्टन र क्यानबेरामा रहेका आफ्ना राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको एक दिनपछि आएको हो । अमेरिका–अस्ट्रेलियाको गोप्य वार्तापछि फ्रान्सेली पनडुब्बी खरिदका लागि गरेको अरबौँ डलरको सम्झौतालाई रद्द गर्ने अस्ट्रेलियाले निर्णय लिएको थियो तर यो निर्णयले फ्रान्सलाई घात गरेको भन्दै फ्रान्सेली अधिकारीहरूले सम्झौताको विरोध गरेका छन् ।

प्रवक्ता गब्रिएल अट्टालले बीएफएम समाचार च्यानलसँग भने, ‘आउँदा दिनमा फोन वार्ता हुनेछ ।’ यस वार्ताका लागि बाइडेनबाट प्रस्ताव आएको उनले बताए । म्याक्रोले अमेरिका–अस्ट्रेलिया–बेलायत रक्षा सम्झौताबारे अमेरिकी राष्ट्रपतिसँग यसबारे सोधपुछ गर्नुहुनेछ । त्रिपक्षीय सम्झौतापछि क्यानबेराले अमेरिकी आणविक शक्ति भएका पनडुब्बीहरू किन्नेछ । यसका कारण यस पहिले अस्ट्रेलियाले सम्झौता गरेको डिजल–इलेक्ट्रिक फ्रान्सेली जहाजहरू किन्ने ठूलो सम्झौता रद्द हुनेछ ।

‘हामी स्पष्टीकरण चाहन्छौँ’, अट्टालले भने । अमेरिकाले ‘ठूलो विश्वास घात’ जस्तो देखिएको कुराबारे जवाफ दिनुपर्ने उनले बताए । यसअघि आइतवार अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले ‘केही महिनाअघि’ भएको सम्झौताप्रति चिन्ता उठाएको भन्दै क्यानबेराले सम्झौता रद्द गर्ने आफ्नो योजनाबारे ढाँटेको भन्ने फ्रान्सको आरोपको खण्डन गरेको थियो ।

Click to comment
To Top