अध्यक्ष ओलीद्वारा संविधान कार्यान्वयनप्रति सचेत रहन सबैमा आग्रह
अखबार टुडे
प्रकाशित:
२०७८, ३ आश्विन

काठमाडौं, ३ असोज । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कार्यान्वयनप्रति सचेत रहन सबैमा आग्रह गरेएका छन् ।
आइतबार सातौँ संविधान दिवसको अवसरमा एमाले केन्द्रीय कार्यालयले ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा आयोजना गरेको कार्यक्रममा ओलीले आफूले ताजा जनादेशमा जान खोज्दा प्रतिगमन भयो भन्नु संविधानको मर्म र भावना विपरीत भएको टिप्पणी गरे ।
उनले आफ्नो सरकारको पालमा प्रतिगामी शक्तिले पुनः टाउको उठाउन नसकून् भनेर संविधान कार्यान्वयनका लागि सक्रिय प्रयास भएको बताए ।

अध्यक्ष ओलीले सामाजिक जीवनका सबै पक्षको सवलीकरण, शिक्षा, स्वास्थ्य, रोजगारी, आवासजस्ता विषयलाई संविधानले मौलिक हकमा समावेश गरेकाले यो संविधान उत्कृष्टभित्र पर्ने बताउँदै यस संविधानले केन्द्रीकृत सामन्ती शासनलाई विकेन्दीकृत गर्दै वास्तविक अधिकार स्थानीय तहसम्म लगेको तथा स्थायित्व र समृद्धिको दिशामा मार्गदर्शन गरेको जनाए ।

उनले भने, ‘यो संविधान ऐतिहासिक दस्तावेज हो । हाम्रो पार्टी यो सफलताप्रति गर्व गर्छ । यसको रक्षा, कार्यान्वयन र विकासमा प्रतिबद्ध रहन्छ । सभामुखलगायत संवैधानिक निकायका पदाधिकारीबाट पदअनुसारको मर्यादा र अचारण होस् भन्ने हाम्रो अपेक्षा हो । नत्र संविधान कागजको खोष्टोमा परिणत हुने खतरा रहन्छ । त्यसले लोकतन्त्र र देशलाई नोक्सान पु¥याउँछ ।’

अध्यक्ष ओलीले लाभका लागि संविधानअन्तर्गत पदको सपथ खाने र फेरि संविधानमाथि मतभेद कायम छ भनेर नक्कली कुरा गर्ने प्रवृत्तिलाई पनि चिरेर अघि बढ्दै राष्ट्रिय आकाङ्क्षालाई पूर्ति गर्न पूर्ण लोकतन्त्रका पक्षमा पार्टी प्रतिबद्ध रहेको जनाए ।

प्रतिक्रिया