अर्बौं डलरको सम्झौता तोडिएको भन्दै फ्रान्सद्वारा अमेरिका र अस्ट्रेलियाका राजदूत फिर्ता
अखबार टुडे
प्रकाशित:
२०७८, २ आश्विन

काठमाडौं, २ असोज । फ्रान्सले इतिहासमा पहिलो पटक अस्ट्रेलिया र अमेरिकामा रहेका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।
आफ्नो देशसँग भएको सम्झौतालाई तोडेर तीन देश (अमेरिका, बेलायत र अस्ट्रेलिया)ले नयाँ सम्झौता गरेकोमा आपत्ति जनाउँदै फ्रान्सले सो निर्णय गरेको हो ।

यसअघि परमाणु पनडुब्बी निर्माणको लागि फ्रान्सले अस्ट्रेलियासँग सम्झौता गरेको थियो, तर गएको बुधवार अस्ट्रेलियाले फ्रान्ससँगको सम्झौता तोडेर अमेरिका र बेलायतसँग नयाँ सम्झौता गरेको छ । तीन देशबीच भएको सम्झौताले आफ्नो देशको अपमान भएको र अर्बौं डलरको सम्झौता तोडिएको भन्दै अस्ट्रेलिया र अमेरिकाका राजदूत फिर्ता बोलाइएको फ्रान्सका विदेशमन्त्री जिन इभसले द्रियानले बताएका बीबीसीले जनाएको छ ।

तीन देशबीचको यो सम्झौतालाई फ्रान्सले अस्वीकार्य रवैयाको संज्ञा दिँदै युरोपमा रहेको इन्डो प्यासिफिक क्षेत्रको महत्त्वलाई कमजोर पार्ने षड्यन्त्रका रुपमा लिएको खबरमा उल्लेख छ । चीनको बढ्दो प्रभाव रोक्न भन्दै अमेरिका बेलायत र अस्ट्रेलिया मिलेर परमाणु पनडुब्बी बनाउने सम्झौता गरेपछि चीनले पनि कडा विरोध जनाएको छ ।

प्रतिक्रिया