दरबार क्षेत्रमा इन्द्रजात्रा (तस्बिरहरु)
अखबार टुडे
प्रकाशित:
२०७८, २ आश्विन

काठमाडौं, २ असोज । काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने इन्द्रजात्राको इन्द्रध्वजोत्थान गरिएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइतमा शनिबार बिहान ६ः५१ बजे इन्द्रजात्राको लिङ्गो ठड्याइएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले राससलाई जानकारी दिए । मुख्य जात्रा आइतबार हुने भएपनि आजैदेखि विभिन्न देवीदेवताका नामका नाच शुरु हुने उनले बताए ।

कार्यालयका मूल पुजारी देवराज अर्यालद्वारा विधिपूर्वक पूजा आराधना एवं हवन गरी शुभ साइतमा इन्द्रध्वजोत्थान गरिएको हो । सो अवसरमा नेपाली सेनाको शार्दुलजङ्ग गुल्म (गुरुजुको पल्टन)ले धिमे बाजासहित मङ्गल धुनको प्रस्तुति गरेको थियो । इन्द्रध्वजोत्थानसँगै शनिबार बिहान वसन्तपुर दरबार क्षेत्रमा देवीनाच पनि प्रस्तुत गरिएको छ । आजदेखि यही असोज ८ गतेसम्म विभिन्न १९ किसिमभन्दा बढीका नाच पनि वसन्तपुर क्षेत्रमा प्रस्तुत गरिन्छ ।
भक्तपुर, हलचोकलगायत उपत्यकाका विभिन्न स्थानबाट वसन्तपुर दरबार क्षेत्रमा इन्द्रजात्राका अवसरमा नाच प्रस्तुत गर्ने परम्परा छ । इन्द्रध्वजोत्थान गरेपछि जात्राको मुख्य दिन आइतबार कुमारीलाई तल्लो टोल यात्रा गराइन्छ । असोज ४ गते माथिल्लो टोल यात्रा गराइने कार्यक्रम रहेको छ ।

असोज ८ गते नानिचा यात्रा गरिने छ । त्यसै दिन राति १०ः३६ बजे इन्द्रध्वज पातनअर्थात् लिङ्गो ढालिने साइत छ । यसरी करिब १५ दिन लामो इन्द्रजात्राको कार्यक्रम समापन गरिन्छ ।

कोरोना महामारीका कारण गत वर्ष पूजा आराधनामात्र गरेर यात्रा स्थगित गरिएको थियो । यस वर्ष सरोकार भएका निकायको बैठकले स्वास्थ्य मापदण्ड पालना गरी न्यूनतम उपस्थिति गराएर जात्रा गर्न लागिएको गुठी संस्थान काठमाडौँ कार्यालय प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिए ।
जात्राको तयारीस्वरुप श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथ मर्मत सम्पन्न गरिएको छ । तीनै वटा रथ शुरु गरिने इन्द्रजात्राको मुख्य दिन असोज ३ गते राष्ट्रपति विद्यादेवी भण्डारी वसन्तपुर दरबार क्षेत्रमा आउनुहुने कार्यक्रम तय गरिएको जनाइएको छ ।

प्रतिक्रिया