
कोलम्बो, १ असोज (एजेन्सी) । श्रीलंकामा देशव्यापी कर्फ्यूको म्याद फेरि थप गरिएको छ । स्वास्थ्य मन्त्री केहेलिया राम्बुक्वेलाले शुक्रबार दिएको जानकारी अनुसार थप गरिएको कर्फ्यू आगामी अक्टोबर १ सम्म लागु हुनेछ ।
कोरोनाभाइरसको महामारी थप फैलिने खतरा अझैपनि रहेकाले कफ्र्युको म्याद थप्नु परेको उनको भनाइ छ । राष्ट्रपति गोटावाया राजापाक्षेको अध्यक्षतामा बसेको राष्ट्रपतीय कार्यदलको बैठकले कर्फ्यूको म्याद थप्न अनुमति दिएको हो ।
महामारीको अवस्था र विज्ञहरूको विश्लेषण तथा सुझावका आधारमा कर्फ्यूको म्याद थप्ने बारेमा स्वास्थ्य मन्त्रीले प्रस्ताव गरेका थिए । कफ्र्यु लागु भएपनि अत्यावश्यक सेवा तथा कामका लागि भने कुनै बाधा नहुने सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।
‘आम नागरिकको आधारभूत आवश्यकता, बाध्यता र अनिवार्यतासँगै देशको अर्थतन्त्रलाई समेत ध्यान दिएर हामीले अत्यावश्यक कतिपय काम तथा सेवा सञ्चालनका लागि कुनै बाधा नहुने व्यवस्था गरेका छौँ’ स्वास्थ्य मन्त्री राम्बुक्वेलाले भनेका छन् ।
कफ्र्युका कारण महामारी न्युनिकरणका लागि धेरै सहयोग पुगेको दावी गर्दै चाडै सवै नागरिकले खोप लगाउन पाउने विश्वास व्यक्त गरे । श्रीलङ्कामा अहिले पनि डेल्टा भेरियन्टको कोरोनाभाइरस तिव्र रुपमा फैलिएको विज्ञहरुले जानकारी दिएका छन् । श्रीलङ्कामा अहिलेसम्म चार लाख ९८ हजार ६९४ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् भने ११ हजार ८१७ जनाको मृत्यु भएको छ ।
