सुदूरपश्चिम प्रदेश सरकारमा थपिए एकीकृत समाजवादीका दुई मन्त्री
अखबार टुडे
प्रकाशित:
२०७८, १ आश्विन

धनगढी, १ असोज । सुदूरपश्चिम प्रदेश सरकारमा नेकपा एकीकृत समाजवादी सहभागी भएको छ । एकीकृत समाजवादीको तर्फबाट दुई जना मन्त्री नियुक्त भएका छन् ।

मुख्यमन्त्री त्रिलोचन भट्टले शुक्रबार एकीकृत समाजवादीका प्रदेशसभा सदस्य तारालामा तामाङलाई आर्थिक मामिला मन्त्री र माया तामाङ बोहरालाई अर्थ राज्यमन्त्री नियुक्त गरेका छन् । उनीहरुले शुक्रबार साँझ नै पद तथा गोपनीयताको सपथ लिएका छन् ।

तारालामा तामाङ तत्कालीन नेकपा एमालेबाट कञ्चनपुरबाट निर्वाचित सांसद हुन् भने बोहरा बझाङबाट समानुपातिक सांसद हुन् । तामाङ तत्कालीन नेकपाका प्रमुख सचेतकसमेत थिए । तर, एमाले अनौपचारिक रुपमा विभाजनका बेला उनलाई पदबाट हटाइएको थियो ।

यस्तै, बोहरा एमाले विभाजनका बेला अध्यक्ष ओलीको पक्षमा खुलेपनि २१ भदौमा एमाले छाडेर एकीकृत समाजवादी पार्टीमा लागेकी थिइन् । विभाजन भएर एकीकृत समाजवादी बनेपछि एमाले संसदीय दलका नेतासमेत रहेका आर्थिक मामिला मन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले पदबाट राजीनामा दिएका थिए ।

सुदूूरपश्चिममा एमाले विभाजनपछि एकीकृत समाजवादी १४ सांसदसहित सबैभन्दा ठूलो दल बनेको छ । एकीकृत समाजवादीका तर्फबाट आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशी, भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का र दुई जना राज्यमन्त्री यसअघि नै प्रदेश सरकारमा छन् ।

प्रतिक्रिया