हामी सरकारमा जान तयार छौँ : अध्यक्ष नेपाल
अखबार टुडे
प्रकाशित:
२०७८, १ आश्विन

काठमाडौं, १ असोज । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आजदेखि स्थापना भएको छ । शुक्रबार मिनभवनको आलोकनगरस्थित केन्द्रीय कार्यालयको एक समारोहबीच अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गरेका छन् । अध्यक्ष नेपालले रिबन काटेर पार्टी कार्यालयको उद्घाटन गरेका थिए ।

पार्टी कार्यालय उद्घाटनपछि अध्यक्ष नेपालले एक साताभित्र मन्त्रिपरिषदले पूर्णता पाउने बताए । अध्यक्ष नेपालले भने, ‘म प्रधान्मन्त्री भएको भए ठ्याक्कै भनिदिन्थें, आशा गरौँ, यो हप्ताभित्र हुने छ ।’ सरकारमा जान आफूहरु तयार रहेको पनि बताए । उनले भने, ‘हामी सरकारमा आजै वा भोलि नै पनि जान सक्छौैँ ।’

यस्तै, पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले अर्को प्रशंगमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकै चासोमा हतारमा एमसीसी सम्झौता अघि बढाउन खोजिएको बताए । पत्रकारहरुको प्रश्नमा नेपालले भने, ‘एमसीसीका बारेमा हामी नेकपा एमालेमा छँदै तत्कालीन प्रधानमन्त्रीले आजै पास गर्ने, भोलि नै गर्ने भनेर त्यतिबेलाका परराष्ट्रमन्त्रीलाई गर्नै नहुने ठाउँमा हस्ताक्षर गराउनुभयो, उहाँकै अर्थमन्त्रीले विभिन्न हिसाबले एमसीसीका निम्ति सीमा नाघेर जानुभयो । ती सबै कुराका हामी आलोचक हौँ ।’

अध्यक्ष नेपालका अनुसार एमसीसीसमक्ष विभिन्न सात शर्त राखिएका छन् । ‘एमसीसीमा कुनै सेक्युरिटी अम्ब्रेलामा बस्नुपर्ने शर्त छ कि छैन ? त्यस्तो शर्त हामीलाई मन्जुर छैन भनेका छौँ,’ उनले भने, ‘हामी कुनै पनि सेक्युरिटी अम्ब्रेलामा बस्ने शर्त मान्य छैन ।’

नेकपा एमालेबाट विभाजन भएर बनेको नयाँ दल नेकपा एकीकृत समाजवादीले देशभर कार्यालय स्थापना गर्न सुरु गरेको छ । यसअघि विभिन्न जिल्लामा एकीकृत समाजवादीको कार्यालय स्थापना गरिसकिएको छ । एकीकृत समाजवादीले निर्वाचन आयोगबाट गत भदौ ९ गते राजनीति दलको मान्यता पाएका थियो ।

केन्द्रीय कार्यालय स्थापनासँगै पार्टीको प्रचार प्रसारलाई तिव्रता दिने भएको छ । पार्टीले छिट्टै मुखपत्र, बुलेटिन र सामाजिक सञ्जाल पनि प्रकाशन गर्ने एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।

प्रतिक्रिया