आजदेखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालनमा, के मा कति छुट ?
अखबार टुडे
प्रकाशित:
२०७८, १ आश्विन

काठमाडौं, १ असोज । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले शुक्रबारदेखि देशका विभिन्न स्थानमा दशैं÷तिहार लक्षित सहुलियत पसल सञ्चालनमा ल्याएको छ । कम्पनीले कार्यालय रहेका ३९ जिल्लाका ४३ ठाउँमा सुपथ मूल्य पसल सञ्चालन गर्न लागेका हुन् ।

कम्पनीले काठमाण्डौ उपत्यकामा खाद्यको थापाथली, रामशाहपथ, नक्खु, लगनखेल र सूर्यविनायक बिक्री केन्द्रबाट सुपथ मूल्यमा खाद्य सामग्री बिक्रीवितरण हुने जनाएको छ । यस्तै, उपत्यकाबाहिर बनेपा, विराटनगर, बिर्तामोड, हेटौँडा, नारायणगढ, भैरहवा, बुटवल, नेपालगञ्ज, पोखरा, दाङ, सुर्खेत, धनगढी, महेन्द्रनगर, डडेलधुरालगायत ठाउँबाट खाद्य वस्तु बिक्री वितरण हुनेछ । सुपथ मूल्य पसल कात्तिक २४ गतेसम्म सञ्चालन हुनेछ ।

खाद्य व्यापार कम्पनीले दाल, चामल, पिठो, चिउरा, तेल, नुन, फापर, सिमी, खसीबोकामा तथा साल्ट ट्रेडिङले नुन र चिनीलगायतका खाद्यवस्तु र दुग्ध विकास संस्थानले घिउ र पनिरमा छुट दिएको छ । खाद्य व्यापार कम्पनीले फापर, सिमी भटमासको तेल, चामल र खसीबोकामा प्रतिकिलो १० रुपैयाँ तथा पिठो, चिउरा, तोरीको तेल, सनफ्लावरको तेल, दालमा प्रतिकिलो ५ रुपैयाँ छुट दिएको छ ।

दुग्ध विकास संस्थानले घिउमा प्रतिकिलो ५० रुपैयाँ र पनिरमा प्रतिकिलो २० रुपैयाँ छुट दिएको छ । साल्ट ट्रेडिङले चिनीमा ५ रुपैयाँ र नुनमा २ रुपैयाँ छुट दिएको छ । साल्ट ट्रेडिङका अनुसार चिनी प्रतिव्यक्ति २ किलो र नुन ६ किलोसम्म किन्न पाइनेछ ।

प्रतिक्रिया