ओलीले भने, ‘धरहरा बनाएको देखेपछि घण्टाघर भत्काउने रे’
अखबार टुडे
प्रकाशित:
२०७८, ३१ भाद्र

काठमाडौं, ३१ भदौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिलाउँदै गएको टिप्पणी गरेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले बिहीबार एमाले काठमाडौं जिल्ला कमिटीको भेला तथा कार्यकर्ता परीक्षण कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘प्रचण्डरूपी त्यत्रो जहाज उडेको, हेर्दै गयो बिलाउँदै जान्छ, अलिक पर जाँदा विस्तारै देख्न छोडिन्छ ।’

अध्यक्ष ओलीले प्रचण्डतिर लागेका नेता कार्यकर्तालाई घरेलु कार्यकर्ता नहुनसमेत सुझाव दिए । उनले माओवादीका कार्यकर्ता कि प्रचण्डको सेवक भन्दै एमालेमा फर्कन आह्वानसमेत गरे । अध्यक्ष ओलीले भने, ‘हिजो हामी नेकपा भएर एकीकृत भइसक्यौँ । तपाईंहरू पार्टीको कार्यकर्ता हो कि प्रचण्डको घरेलु कार्यकर्ता ? प्रचण्डलाई घाँस हालेर के दिन्छन् ? मन्त्री दिन्छु भन्थे, अहिले त त्यो पनि दिन छाडे ।’ ओलीले दुई महिना भइसक्दासमेत मन्त्री नबनाएको टिप्पणी गर्दै माधव नेपालतिर गएका कार्यकर्ताहरुलाई फोहोरको डंग्र छाडेर एमालेमा फर्कन आह्वान गरे ।

‘मौरीको संगत लागेर गयो भने फूलबारीमा पुगिन्छ’ अध्यक्ष ओलीले भने, ‘झिँगाको पछि लागेर फूलबारी पुगिँदैन । फोहोरको डंगुरमा पुगिन्छ । त्यस कारण मौरीका पछि लाग्नुस् । नेकपा एमाले भनेको मौरीको गोलो हो ।’

अध्यक्ष ओलीले ५ लाखलाई १० हजार एकपटक बाँडेर गरिबी बढ्छ ? भन्दै सरकारलाई प्रश्न गरे । सरकारले प्रतिस्थापन विधेयकमार्फत असोजमा गरिबलाई १० हजारका दरले रकम दिन गरेको निर्णयलाई ओलीले कुनै मापदण्डबिनै आफ्ना कार्यकर्तालाई सो रकम बाँड्न लागेको आरोप लगाए ।

उनले देउवा सरकारलाई प्रश्न गर्दै भने, ‘को को गरिब ? जो जान्छ त्यही गरिब, कुनै मापदण्ड छ ? केही छ ? ५ लाखलाई दश हजार बाँडेर गरिबी हट्छ ?, रोजगारी सिर्जना हुन्छ ? कृषि आधुनिकरण गर्ने केही छैन कस्तो मन पोलेको होला धरहरा बनाएको देखेपछि घण्टाघर भत्काउने रे !’

अध्यक्ष ओलीले शान्तिपूर्ण आन्दोलन गरेका जनतालाई उत्तेजित नबनाउन सरकारलाई चेतावनी दिँदै भने, ‘हामी पनि सरकारमा थियौँ, तीन वर्ष केही गर्नुपरेन, लाठी लाउनु नपर्ने, तर टुक्राटुक्री मिलेर बनेको सरकार बन्नेवित्तिकै दमन गर्ने ?’ उनले लोकतान्त्रिक अभ्यासमार्फत शान्तिपूर्ण आन्दोलन गर्ने जनतालाई सरकारले दमन गरे प्रतिवादमा उत्रने चेतावनी दिए ।

प्रतिक्रिया