सम्झौतापछि पहिलोपटक वीरगञ्ज आइपुग्यो निजी कार्गो रेल
अखबार टुडे
प्रकाशित:
२०७८, ३० भाद्र

काठमाडौं, ३० भदौं । नेपाल–भारत रेल्वे सम्झौता भएपछि पहिलोपटक वीरगञ्ज सुख्खा बन्दरगाहमा निजी क्षेत्रको कार्गो रेल आएको छ । बुधबार हिन्द टर्मिनल प्रालिको भारतीय रेल सुख्खा बन्दरगाहमा आएको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिएका हुन् ।

उनका अनुसार हल्दियाबाट एक र्याकको कार्गो रेल बुधबार बिहान १० बजे सुख्खा बन्दरगाह आइपुगेको छ । खाद्यान्नको २० फिट अग्लो ९० वटा कन्टेनर छ । २००४ सालमा नेपाल–भारत रेल सम्झौता भएपनि पूर्णता पाएको थिएन । सम्झौतामा दुई पक्षीयबाट केही संशोधन गरेपछि पहिलोपटक कार्यान्वयनमा आएको हो ।

योसँगै नेपाल आउने सामान ल्याउने कार्गो रेलमा भारतीय कम्पनीको सिन्डिकेट तोडिएको छ । अब सामुद्रिक बन्दरगाहसम्म नेपाली रेलको पहुँच हुनेछ । सम्झौतामा नेपाल आउने वस्तु जुनसुकै कार्गो रेलबाट आपूर्ति हुने छ ।

हाल भारतको सरकारी कम्पनी कन्टेनर कर्पोरेसन इन्डिया लिमिटेडबाट मात्रै सामान ल्याउन पाइन्थ्यो । नेपालको रेल सिधै कोलकत्ताको हल्दिया पोर्टसम्म जान सक्नेछन् भने नेपाली रेलले नै सामान बोकेर सिधै नेपाल आउन सक्नेछन् ।

प्रतिक्रिया