काठमाडौं, २८ भदौं । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक नेकपा एमालेले बहिस्कार गरेको छ । एमालेले बारम्बार प्रतिनिधिसभा अवरोध गरेकाले सहमति जुटाउनका लागि सभामुख सापकोटाले सोमबार सर्वदलीय बैठक आह्वान गरेका थिए ।
सर्वदलीय बैठकमा संसद्मा जारी गतिरोध अन्त्य लगायतका महत्वपूर्ण समसामयिक विषयमा केन्द्रित रहेको सभामुख सापकोटाको सचिवालयले जनाएको छ ।
बैठक अघि एमाले प्रमुख सचेतक भट्टराईले भनेका थिए, ‘एमालेसँग सरोकार रहेको बिषयमा अरु दललाई किन साक्षी राखेर बैठक बस्नुपर्यो ? सिधै एमाले शिर्ष नेताहरुसँग बसेर छलफल गरे भैगो नि ।’ उनले सर्वदलीय बैठकमा एमाले सहभागी नहुने सभामुखलाई जानकारी गराइसकेको बताएका थिए । एमालेकै किचलो समाधान गर्न बैठक बोलाइएको भएपनि एमालेले बहिस्कार गरेको छ । एमालेको बहिस्कारका बाबजुद बैठक बसेको छ ।
छलफलमा प्रधानमन्त्री एवं काँग्रेस संसदीय दलका नेता शेर बहादुर देउवा, प्रमुख प्रतिपक्षी नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली, माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता माधवकुमार नेपाल, जसपा संसदीय दलका नेता उपेन्द्र यादव र लोसपाका नेता महन्थ ठाकुरलाई बोलाइएको थियो ।
यस्तै जनमोर्चाकी दुर्गा पौडेल, नेमकिपाका प्रेम सुवाल र राप्रपाका राजेन्द्र लिङदेनलाई पनि छलफलमा आमन्त्रण गरिएको छ । २३ भदौ गतेदेखि सुरु भएको संसद् अधिवेशनमा एमालेले संसद् अवरुद्ध गरिरहेको छ । पार्टीले कारबाही गरेको १४ सांसदलाई सभामुखले सूचना टाँस नगरेको भन्दै संसद अवरोध गर्दै आएको छ ।