नेपालमा कोरोना संक्रमण ओरालो लागेकै हो ? तथ्यांक यसो भन्छ
अखबार टुडे
प्रकाशित:
२०७८, २७ भाद्र

काठमाडौं, २७ भदौं । नेपालमा कोरोना संक्रमण दर ओरालो लागेको छ । आइतबार कोरोना संक्रमणको दोस्रो लहर सुरु भएयताकै सबैभन्दा कम संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार आइतबार परीक्षण गराएकामध्ये ८.२६ प्रतिशतमा संक्रमण देखिएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११,०१८ जनाको परीक्षण गर्दा ९११ जनामा संक्रमण देखिएको छ । संक्रमितको संख्या शनिबारबाटै एक हजार तल झरेको थियो । शनिबार ९,८४० को परीक्षण गर्दा ९९४ जनामा संक्रमण देखिएको थियो । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार लगातार चार दिनयता १० प्रतिशतको हाराहारीमा संक्रमण दर घटेको छ ।

मे महिनाको दोस्रो साता उच्च बिन्दुमा पुगेर कम हुन थालेको संक्रमण जुलाईको दोस्रो सातादेखि फेरि माथि उक्लिएको थियो । तर, अगस्टको दोस्रो सातादेखि भने निरन्तर संक्रमण दर कम हुँदै गएको छ । संक्रमण कम हुँदै जानुमा खोपको पहुँच, मानिसहरूमा विकास भएको एन्टिबडी र जनचेतना भएको अधिकारीहरूले बताएका छन् ।

जनसंख्या तथा स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार हाल देशभर २६,७५७ सक्रिय सङ्क्रमित छन् । १३ वटा जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित छन् भने २० जिल्लामा २०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।

आइतवार थप १३ जनाको मृत्यु भएपछि कोभिडका कारण ज्यान गुमाउनेको कुल संख्या १०,९४९ पुगेको छ । पाँच ५०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लाहरूको सङ्ख्या वाग्मती प्रदेशमा उच्च छ । उक्त प्रदेशका काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर र काभ्रेपलान्चोक जिल्लामा संक्रमितहरूको संख्या ५०० भन्दा बढी छ ।

गण्डकी प्रदेशको नवलपरासी पूर्व, कास्की र बाग्लुङमा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित छन् । प्रदेश नं १ का मोरङ, सुनसरी र झापाको अवस्था पनि त्यस्तै छ ।

लुम्बिनी प्रदेशको रूपन्देहीमा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित छन् भने कर्णाली प्रदेशको सुर्खेतमा पनि संख्या ५०० माथि रहेको छ ।
कतिले लगाए खोप

अहिलेसम्म पूर्ण मात्रामा खोप लगाउनेहरूको संख्या ५१ लाख ६६ हजार नाघेको मन्त्रालयले जनाएको छ । कोभिड खोपको पहिलो मात्रा लगाउनेको संख्या ५७ लाख ७२ हजार नाघेको छ । अक्सफर्ड–आस्ट्राजेनेकाले बनाएको खोप, चीनमा निर्मित भेरो सेल र जोनसन एन्ड जोनसनको ज्यान्सेन खोप नेपाल आएका छन् । जोनसन एन्ड जोनसन खोप एक मात्रा मात्र लगाए पुग्छ भने आस्ट्राजेनेका तथा भेरो सेलको दुई मात्रा लगाउनुपर्छ ।

प्रतिक्रिया