सभामुखद्वारा सर्वदलीय बैठक आह्वान
अखबार टुडे
प्रकाशित:
२०७८, २७ भाद्र

काठमाडौं, २७ भदौं । सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक आह्वान गरेका छन् । प्रतिनिधिसभा बैठकमा जारी अवरोध हटाउने विषयमा छलफल गर्न सभामुख सापकोटाले सोमबारका लागि सर्वदलीय बैठक बोलाएका हुन् । सोमबार दिउँसो २ः३० बजे बस्नेगरी सर्वदलीय बैठक बोलाइएको छ ।

गत बुधबारदेखि सुरु भएको प्रतिनिधिसभाको नवौँ अधिवेशन अन्तर्गका बैठकहरुमा नेकपा एमालेले कारबाही गरेका १४ सांसदलाई सभामुखले पदमुक्त नगरेको भन्दै एमालेले निरन्तर संसद बैठक अवरुद्ध गर्दै आएको छ ।

प्रमुख प्रतिपक्षी एमालेका सांसदहरुको नाराबाजी र विरोधका बीच बुधबार राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन सम्बन्धी अध्यादेश पेस भएको थियो । यस्तै, शुक्रबारको बैठकमा बजेटसम्बन्धी अध्यादेश स्वीकृत भएका थिए भने अर्थमन्त्री जनार्दन शर्माले बजेटसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्न विधेयक पेस गरेका थिए । आइतबार बसेको बैठकमा प्रतिस्थापन विधेयकमाथि छलफल गर्ने कार्यसूची रहेपनि एमाले सांसदहरुको नाराबाजीका कारण सम्भव भएन । प्रतिनिधिसभा बैठक मंगलबार दिउँसो १ बजे बोलाइएको छ ।

प्रतिक्रिया