धरापमा बागमती प्रदेश सरकार, मुख्यमन्त्रीमा एकीकृत समाजवादीको दाबी
अखबार टुडे
प्रकाशित:
२०७८, २७ भाद्र

काठमाडौं, ७ भदौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन् । माधवकुमार नेपाल नेतृत्वको दल नेकपा एकीकृत समाजवादीले मुख्यमन्त्री शाक्यलाई समर्थन नगर्ने भएसँगै बागमती प्रदेश सरकार जोखिममा परेको हो ।

नेकपा एमाले विभाजन हुँदा १३ जना सांसदले एकीकृत समाजवादी रोजेका छन् । एकीकृत समाजवादीको दलको नेतामा राजेन्द्र पाण्डे चयन भएका छन् । आइतबार बसेको बैठकले पाण्डेलाई संसदीय दलको नेता चयन गरेको हो ।

बैठकले मुख्यमन्त्री शाक्यलाई आफ्नो समर्थन नरहेको जानकारी संसद सचिवालयलाई गराउने निर्णय गरेको छ । यससँगै मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी हुन् । एमाले विभाजन हुँदा माधवकुमार नेपाल समूह छाडेर एमालेमै बसेकी उनी २ भदौमा मुख्यमन्त्री बनेकी थिइन् ।

१०९ सदस्यीय प्रदेशसभामा एमालेको प्रष्ट बहुमत थियो । ५५ मध्ये १३ सांसदले एकीकृत समाजवादी रोजेपछि एमालेको सांसद ४२ मात्र कायम भएको छ । अब मुख्यमन्त्री शाक्यले विश्वासको मत लिनुपर्ने हुन्छ । यसका लागि पाँचदलीय गठबन्धनले अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ । गठबन्धनमा एकीकृत समाजवादीले मुख्यमन्त्री दाबी गरेको छ ।

प्रतिक्रिया