काठमाडौं, २६ भदौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले संशोधन गरेर मात्र एमसीसी स्वीकार गरिने बताएका छन् । शनिबार युवा संघको लुम्विनी प्रदेश भेलालाई नेपालगञ्जमा सम्बोधन गर्दै अध्यक्ष नेपालले नेपालको राष्ट्रको हितविपरीत हुने कुनैपनि सम्झौता आफ्नो पार्टीलाई स्वीकार्य नहुने स्पष्ट पारे ।
पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले भने, ‘एमसीसीमा भएका बुँदाहरू प्रष्ट हुनुपर्छ । मैले परियोजनाकी उपाध्यक्ष फातिमा सुमारलाई पनि त्यही सुझाव दिएको छु । नेपालको स्वाभिमान कायम हुने गरी जवाफ आए मात्र त्यस विषयमा छलफल गर्न सकिन्छ ।’
सोही क्रममा अध्यक्ष नेपालले एमालेमा कम्युनिस्टको गुण नरहेको टिप्पणी गरे । उनले भने, ‘एमालेलाई केपी ओलीले निजी कम्पनी जस्तो बनाएकाले बाध्य भएर विभाजनको बाटो रोज्नु परेको हो ।’
एकीकृत समाजवादीको गठनले एमालेमा नयाँ तरंग पैदा भएको उनले दावी गरे । उनले भने, ‘एमालेले प्रतिनिधिसभामा गरेको हर्कत गलत छ । संवैधानिक अंग र सभामुखको मानर्दन गर्ने कार्य निन्दनीय छ । यसले ओलीलाई पतनको बाटोमा लग्ने छ ।’