एमसीसी उपाध्यक्ष सुमारसँग एमाले अध्यक्ष ओलीले के भने ?
अखबार टुडे
प्रकाशित:
२०७८, २४ भाद्र

काठमाडौं, २४ भदौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)की उपाध्यक्ष फतिमा सुमारले बिहीबार भेट गरेका छन् ।

अध्यक्ष ओली निवास बालकोटमा भएको सो भेटमा अमेरिकी अनुदान सम्झौता एमसीसीका बारेमा छलफल भएको थियो । उक्त भेटमा उपाध्यक्ष सुमारले एमसीसी अनुमोदनको प्रक्रिया अघि बढाउनुपर्छ भन्नेमा अमेरिकी सरकार रहेकाले यसका लागि सघाउन आग्रह गरेकी थिइन् ।

पूर्वप्रधानमन्त्री ओलीले आफ्नो पार्टी अहिले प्रतिपक्षमा रहेकाले एमसीसीबारे सरकारको स्पष्ट धारणा नआएसम्म पार्टीले धारणा नबनाउने बताएको भेटमा सहभागी एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए ।

‘अहिलेको सरकार बहुमतमै रहेकाले एमसीसी अनुमोदन गर्ने कि नगर्ने भन्ने बारेमा सरकार पहिला स्पष्ट हुनुपर्छ, अनि एमालेले आफ्नो धारणा बनाउँछ, अहिले एमालेले एमसीसीबारे कुनै धारणा बनाएको छैन’ अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै भट्टराईले पत्रकारहरुलाई जानकारी दिए ।

एमालेको नेतृत्वमा सरकार हुँदा एमसीसी अनुमोदन गर्न प्रयास गरे पनि तत्कालीन सभामुखले संसद्मा पेस नगरीदिँदा अघि बढ्न नसकेको स्मरण गराउँदै अहिले एमाले प्रतिपक्षमा रहेकाले यसमा एमालेको प्रत्यक्ष भूमिका नहुने ओलीले जानकारी गराएको पनि भट्टराईले बताए ।

बालकोट भेटमा उपाध्यक्ष सुमारसँगै एमसीसीका प्रतिनिधि सहभागी थिए । त्यसैगरी एमालेका तर्फबाट विदेश विभाग प्रमुख भट्टराई, नेता विष्णु रिमाल, सूर्य थापालगायत सहभागी थिए ।

प्रतिक्रिया