प्रधानमन्त्री देउवाको निर्देशन, ‘बैठकमा अनिवार्य उपस्थित हुनु, एमसीसीबारे नबुझ्नेले नबोल्नु’
अखबार टुडे
प्रकाशित:
२०७८, २२ भाद्र

काठमाडौं, २२ भदौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौताबारे बुझेरमात्रै बोल्न सांसदहरूलाई निर्देशन दिएका छन् । प्रतिनिधिसभाको बैठकको पूर्व सन्ध्यामा मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकमा प्रधानमन्त्री देउवाले एमसीसीका विषयमा धेरै अफवाह फैलिएको भन्दै यस विषयमा अध्ययन गरेरमात्रै बोल्न सांसदहरुलाई निर्देशन दिएका हुन् । उनले नबुझ्नेले नबोल्न आग्रह गरे ।

बहुचर्चित अमेरिकी सहायता परियोजना एमसीसीबारे पछिल्लो समय विरोध बढ्दै गएका बेला कांग्रेस सभापति तथा प्रधानमन्त्री देउवाले यस्तो निर्देशन दिएका हुन् ।

बैठकमा सांसदहरूले एमसीसीका सन्दर्भमा राखेको जिज्ञासामा देउवाले बुझेरमात्र बोल्न र मिल्छ भने बुझेका सांसदले मात्र बोल्न निर्देशन दिए । देउवाले अघिल्ला सरकारहरुले पनि कानुन बनाएर एमसीसीलाई अघि बढाउँदै आएको बताए । यो प्रतिस्पर्धाबाट प्राप्त गरेको अनुदान भएको र यससँग लोकतान्त्रिक देशको सम्बन्ध पनि जोडिएको भन्दै प्रधानमन्त्री देउवाले भने, ‘जुनसुकै सहयोग प्राप्त गर्दा पनि शर्तहरु हुन्छन् ।’

साथै, उनले संसद बैठकमा अनिवार्य रुपमा उपस्थित हुन समेत निर्देशन दिएका छन् । बुधबारबाट सुरु हुने संघीय संसदको दुवै सदनको बैठकमा अनिवार्य रुपमा उपस्थित भएर प्रभावकारी भूमिका निर्वाह गर्न पार्टीका सांसदहरुलाई उनले निर्देशन दिए । नेपाली काँग्रेसका संसदीय दलका नेता समेत रहेका देउवाले सत्तारुढ दलहरूसँग परामर्श गरेर मन्त्रिपरिषदलाई छिटो पूर्णता दिन पनि बताए ।

प्रतिक्रिया