सभामुख र निर्वाचन आयोगविरुद्ध ओलीको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
अखबार टुडे
प्रकाशित:
२०७८, २२ भाद्र

काठमाडौं, २२ भदौं । सभामुख र निर्वाचन आयोगविरुद्ध नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दर्ता गराएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
ओलीले अन्तरिम आदेशको माग गरे पनि सर्वोच्चले अन्तरिम आदेश नदिइ दुवै पक्षलाई भदौ २८ गते दुबै छलफलमा बोलाएको छ ।
एमालेले १४ सांसदलाई दलबाट निष्कासन गरेको कारबाहीलाई सभामुख सापकोटाले मान्यता नदिएको भन्दै अध्यक्ष ओलीले त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासले अन्तरिम आदेश नदिई, अन्तरिम आदेश दिने वा नदिने विषयमा छलफलका लागि भदौ २८ गते दुवैपक्षलाई बोलाएको हो ।
यस्तै, निर्वाचन आयोगलाई पनि १५ दिनभित्र जवाफ पेस गर्न भनिएको छ । जवाफ प्राप्त भएको तेस्रो दिनदेखि रिटमाथि सुनुवाइ हुनेछ । दल दर्ताका क्रममा निर्वाचन आयोगले दस्तखत नभएका निवेदनलाई पछि सनाखत गराएको, प्रक्रिया नै पूरा नगरी गलत मनसायले हतारमा छुट्टै दल दर्ता गराएको भन्दै एमालेले रिट दायर गरेको थियो ।

प्रतिक्रिया