यूएईद्वारा भिसा नियम अत्यधिक खुकुलो
अखबार टुडे
प्रकाशित:
२०७८, २१ भाद्र

काठमाडौं, २१ भदौं । यूएईले आइतबार आफ्नो देशको भिसा नियमलाई खुकुलो बनाएको छ । यो निर्णयपश्चात् अब त्यहाँ काम गर्ने कामदार रोजगारदाता कम्पनीले स्पोन्सर नगरिकनै त्यहाँ बस्न र काम गर्न सक्नेछन् ।

नयाँ नियमअनुसार गोल्डेन भिसाको लागि म्यानेजर, सीईओ, वैज्ञानिक, इन्जिनियर, स्वास्थ्य शिक्षा व्यापार, प्रविधिसँग सम्बद्ध व्यक्तिहरुले आवेदन दिन सक्नेछन् । यसबाहेक, प्रक्रिया दीर्घकालीन निवास प्राप्त गर्नको लागी अत्याधिक कुशल र विशेष बासिन्दाहरु, लगानीकर्ताहरु, उद्यमीहरु, वैज्ञानिकहरु, अग्रणी विद्यार्थीहरु र स्नातकहरुको लागि सहज बनाइएको छ ।

यस्तै यूएई सरकारको पछिल्लो निर्णय अनुसार व्यापार यात्राको लागि दिइने तीन महिनाको अवधि लम्ब्याएर ६ महिना बनाएको छ । अब यूएईमा रहेका आप्रवासीले आफ्नो परिवारका सदस्यहरुलाई भिसा स्पोन्सर गर्न पनि सक्नेछन् ।

यस्तै कारणबस जागिर गुम्यो वा भिसाको म्याद सकियो भने पहिले एक महिनासम्म मात्र यूएईमा बस्न मिल्थ्यो । अब त्यो समय लम्ब्याएर तीन महिना सम्म बस्न मिल्ने बनाएको छ । पछिल्लो समय यूएई आप्रवासीहरुप्रति उदार बन्दै गएको छ । योसँगै त्यहाँ कार्यरत लाखौँ नेपाली श्रमिकहरु पनि यी नयाँ नियमबाट लाभान्वित हुनेछन् ।

यूएई सरकारले विभिन्न ५० वटा नयाँ आयोजना ल्याउँदै छ । तीमध्ये एक भिसासम्बन्धी व्यवस्था पनि हो । यो व्यवस्थाले भिसा प्रक्रियालाई सहज र थप प्रभावकारी बनाउने जनाइएको छ ।

प्रतिक्रिया