तालिबानद्वारा पञ्जशीर उपत्यका कब्जा गरेको दाबी
अखबार टुडे
प्रकाशित:
२०७८, २१ भाद्र

काबुल, २१ भदौ (एजेन्सी)। तालिबानले अफगानिस्तानको पञ्जशीर उपत्याका पूर्ण नियन्त्रण कायम गरेको दाबी गरेका छन् ।
तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले एक बयान जारी गर्दै आफ्नो नियन्त्रण नभएको अफगानिस्तानको अन्तिम इलाका अब उसको कब्जामा भइसकेको जानकारी दिए ।

यद्यपि, तालिबानविरुद्ध लडिरहेको विरोधी बल नेशनल रेसिस्टेन्स फ्रन्ट (एनआरएफ) ले यो दाबी अस्वीकार गरेको छ । एनआरएफका प्रवक्ता अली मेसमले बीबीसीसँग भने, ‘यो साँचो होइन, तालिबानले पञ्जशीरमाथि कब्जा जमाएको छैन । म यो दाबी अस्वीकार गर्छु ।’

उक्त समूहको ट्विटरमा भनिएको छः ‘एनआरएफका सैनिकहरू युद्धलाई निरन्तरता दिन उपत्यकाका सबै रणनीतिक स्थानमा छन्। हामी अफगनिस्तानका जनतालाई आश्वस्त पार्न चाहन्छौँ कि न्याय र स्वतन्त्रता कायम नभएसम्म तालिबान र तिनका साझेदारविरुद्धको सङ्घर्ष जारी रहन्छ ।’ तर सोसल मिडियामा सार्वजनिक भइरहेका तस्बिरमा तालिबान लडाकू प्रान्तिय गभर्नरको कम्पाउन्डको ढोका अगाडि उभिरहेको देखिएका छन् ।

पन्जशिर उपत्यका तालिबानले नियन्त्रणमा लिन नसकेको एक मात्र प्रान्त हो र त्यहाँ हजारौँ तालिबान विरोधी लडाकु जम्मा भएको मानिएको छ । अफगानिस्तानका पूर्वउपराष्ट्रपति अमरुल्ला सालेहसहित अफगान सुरक्षा बलमा पूर्व लडाकु र स्थानीय लडाकुहरू रहेको विरोधी फौजको नेतृत्व स्थानीय नेता अहमद मसूदले गरिरहेका छन् ।

मसूदका बुवा अहमद शाह मसूदले सन् १९८० को दशकमा सोभियत सङ्घको फौज र सन् १९९० को दशकमा तालिबानलाई पन्जशिर उपत्यकाका छिर्न दिएका थिएनन् । तालिबान प्रवक्ता जाबिहुल्लाह मुजाहिदले वार्ता असफल भएपछि लडाकुहरू पन्जशिर उपत्यकामा प्रवेश गरेको बताएका समाचार संस्था रोयटर्सले जनाएको छ ।

प्रतिक्रिया