उपत्यकाका विभिन्न स्थानमा डुबान, बल्खु तरकारी बजारमा एक करोडको क्षति
अखबार टुडे
प्रकाशित:
२०७८, २१ भाद्र

काठमाडौं, २१ भदौ । गएरातिको अविरल वर्षाले काठमाडौँ उपत्यकामा ३८५ घर डुबानमा परेका छन् भने २४७ जनाको उद्धार गरिएको छ ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एवं प्रहरी उपरीक्षक सुशीलसिंह राठौरका अनुसार काठमाडौँबाट २३२ र ललितपुरबाट १५ मजदुरको उद्धार गरिएको बताए ।
काठमाडौँको काँडाघारी, परोपकार, बल्खु, सुन्दरीघाट, भक्तपुरको मनोहरा, बोडेफाँट, सुकुम्बासी बस्ती तथा ललितपुरको सानेपा, कालोपुललगायतको क्षेत्र डुबानमा परेको जानकारी दिए ।
विशेष गरी नदीको वरपरका क्षेत्र डुबानबाट प्रभावित भएको जनाइएको छ । अहिलेसम्म डुबानबाट मानवीय क्षति नभएको प्रहरीको भनाइ छ ।

यस्तै, अविरल बर्षाका कारण आएको बाढीले बल्खु तरकारी बजारमा करिब एक करोडको क्षति भएको अनुमान सञ्चालकले गरेका छन् । तरकारी बजार ध्वस्त भएको भन्दै तत्काल खुल्ने अवस्था नरहेको पनि सञ्चालकको भनाइ छ ।

प्रतिक्रिया