काठमाडौंमा सोमबार सुरु हुँदै डब्ल्यूएचओको दक्षिणपूर्वी एसियाली राष्ट्रको क्षेत्रीय बैठक
अखबार टुडे
प्रकाशित:
२०७८, २० भाद्र

काठमाडौं, २० भदौं । विश्वस्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)को दक्षिणपूर्वी एसियाली राष्ट्रको क्षेत्रीय कार्यकारी समितिको ७४औँ बैठक भोली सोमबारदेखि २५ गतेसम्म आयोजना हुँदैछ । डब्लूएचओको सदस्य राष्ट्र नेपालले ११ वर्षपछि अप्रत्यक्षरूपमा बैठक आयोजना गर्न लागेको हो ।

बैठकमा कोभिड–१९ महामारी तथा स्वास्थ्यमा सर्वव्यापी पहुँच हासिल गर्न अत्यावश्यक स्वास्थ्य सेवाहरूको ‘अझ असल र सबल पुनर्निर्माण’का उपायदेखि लिएर विद्यालय स्वास्थ्यको पुनरुत्थान र खोपद्वारा रोकथाम गर्न सकिने रोगहरूका लागि खोप कार्ययोजना तथा त्यसनिम्ति क्षेत्रीय कार्यढाँचासम्मका विषयमा गहन छलफल हुने बताइएको छ ।

बैठक समाप्तिसँगै आगामी एक वर्षका निम्ति उक्त क्षेत्रीय संस्थाको कार्यकारी समतिको अध्यक्षतासमेत गर्ने नेपालले दक्षिणपूर्वी एसियाली राष्ट्र बङ्गलादेश, भूटान, दक्षिण कोरिया, भारत, इन्डोनेसिया, माल्दिभ्स, नेपाल, म्यानमार, श्रीलंका, थाइल्याण्ड र टिमोर लेस्टेसँग निकट सम्पर्क र समन्वयमा रहेर स्वास्थ्यसम्बन्धी क्षेत्रीय मुद्दामा नेतृत्वदायी भूमिका निर्वाह गर्नेछ ।

बैठकको पूर्वसन्ध्यामा आइतबार पत्रकार सम्मेलन गरेर स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले भावी नीति, रणनीतिको तर्जुमा, प्रगतिका प्रतिवेदनउपर छलफल, तथा यस क्षेत्रका लागि बजेट तथा कार्यक्रमको अनुमोदन पाँचदिने बैठकबाट हुने जानकारी दिए ।

एघार वटै दक्षिणपूर्वी एशियाली देशका स्वास्थ्यमन्त्री, डब्लूएचओका महानिर्देशक डा टेड्रोस एड्हानोम गेहब्रेयसस, क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल सिंह, उच्च स्वास्थ्य अधिकारी, राष्ट्रसङ्घीय निकायका प्रतिनिधि, विकासका साझेदार तथा नागरिक समाजका प्रतिनिधिहरूको सहभागितामा हुने बैठकले विगतका बैठकबाट अनुमोदन भएका विषयको प्रगतिको समीक्षा गरिने भएको छ ।

साठी वर्षदेखिको डब्ल्युएचओसँगको नेपालको साझेदारीलाई अझ सघन र परिणामुखी तुल्याउन बैठक उपयोगी हुने विश्वास व्यक्त गर्दै उनले दक्षिणपूर्वी एसियाली क्षेत्रमा स्वास्थ्य समस्या समाधानका निम्ति पनि फलदायी हुने बताए ।

प्रतिक्रिया