
काठमाडौं, २० भदौं । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारी बाँडफाड गरेको छ । स्थायी कमिटीमा पार्टी अध्यक्ष नेपाल र खनालसहित मुकुन्द न्यौपाने, डा. बेदुराम भुसाल र प्रमेश हमाल छन् । साथै पार्टीको दैनिक कार्य सम्पादन गर्नका लागि भुसालको संयोजकत्वमा प्रमेश हमाल, राजेन्द्र पाण्डे, डा.गंगालाल तुलाधर, डा. विजय पौडेल, जयन्ती राई र जीवनराम श्रेष्ठ रहेको सचिवालय गठन गरिएको छ । केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी तुलाधरलाई दिइएको छ ।
प्रदेश १ को इञ्चार्जमा घनेन्द्र बस्नेत, प्रदेश २ इञ्चार्ज धर्मनाथ साह, बागमती प्रदेश इञ्चार्जमा केदार न्यौपाने, गण्डकी प्रदेश इञ्चार्जमा केशवलाल श्रेष्ठ, लुम्बिनी प्रदेश इञ्चार्जमा भागवत विश्वासी र कर्णाली प्रदेश इञ्चार्जमा प्रकाश ज्वाला चयन भएका छन् । सुदूरपश्चिम प्रदेश इञ्चार्ज भने तोकिएको छैन ।
उपत्यका विशेष प्रदेश इञ्चार्ज विश्वनाथ प्याकुरेल, सम्पर्क विशेष प्रदेश इञ्चार्ज विजय गुरुङ, मोर्चा इञ्चार्ज डा. विजय पौडेल छन् । डा.विजय पौडेलले प्रचार विभाग प्रमुखको जिम्मेवारी पाउँदा श्रीप्रसाद शाहलाई प्रवास क्षेत्रको जिम्मा दिइएको छ ।
यसैगरी अदालत र निर्चाचन आयोग सम्बन्धी काम गर्ने जिम्मा राजेन्द्र पाण्डे, विजय पौडेल र रामकुमारी झाँक्रीलाई दिइएको छ । संसदीय कामको जिम्मेवारी भने विरोध खतिवडा, कल्याणी खड्का, जीवनराम श्रेष्ठ र ठगेन्द्र पुरीलाई तोकिएको छ ।
पार्टीको राष्ट्रिय सम्मेलनमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन लागायतका दस्तावेज मस्यौदा गर्न झलनाथ खनालको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरिएको छ । यही समितिलाई निर्वाचन आयोगमा पेस गरिएका दस्तावेजहरु परिमार्जनको जिम्मा पनि दिइएको छ । नेकपा (एकीकृत समाजवादी)को प्रचार विभाग प्रमुख एवं प्रवक्तामा जगन्नाथ खतिवडा चयन भएका छन् ।
