दाङ, १९ भदौं । सुन्दा पत्यार नलाग्ला । तर, शनिबार दाङमा एउटा अनौठो घटना भएको छ । एक जना व्यक्ति बल्छी परेको माछाले टोक्दा मृत्यु भएको छ । बल्छीमा परेको माछा समाउन खोज्दा टोकेको केही समयमा ती व्यक्तिको मृत्यु भएको थियो ।
लमही नगरपालिका वडा नं. १ सुनडबरीका ४९ वर्षीय खिमबहादुर घर्ती स्थानीय खोलामा बल्छी लगाएर तानेको अढैया जातको माछाले टोकेलगत्तै बेहोस भएका थिए । जिल्ला प्रहरी कार्यलय दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका अनुसार श्रीमतीसँगै स्थानीय कुलोमा बल्छी लगाएर माछा मार्न गएका घर्तीको जालमा सर्पजस्तै लामो अढैया जातको माछा परेपछि फटफटाइरहेका बेला घर्तीले मार्नलाई आफ्नै मुखले त्यसको टाउको टोकेलगतै उहनी बेहोस भएका थिए । त्यसपछि अस्पताल ल्याउनासाथ उनलाई चिकित्सकले मृत्यु भइसकेको घोषणा गरेका थिए ।
एसपी काफ्लेका अनुसार झन्डै शनिबार दिउँसो २ः४५ बजेतिर घर्तीको बल्छीमा सर्पजस्तै देखिने झन्डै एक हात लामो अढैया जातको माछा परेको थियो । त्यसको टाउको मुखले टोकेको ३–४ मिनेटपछि घर्ती बेहोस भएका थिए ।
वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक राजन पौडेलले अनौठो घटना घटेको भए पनि पोष्टमार्टम रिपोर्ट नआउँदासम्म घर्तीको मृत्यु यही कारणले भयो भन्न सक्ने अवस्था नरहेको बताए ।
‘हामीले सर्पजस्तै देखिने झन्डै एक हात लामो माछा पनि अस्पतालमै राखेका छौं,’ पौडेलले भने, ‘पोष्टमार्टम रिपोर्टले घर्तीको मृत्यु माछाको विषका कारण भएको हो वा अन्य केही कारणले भएको हो भन्ने यकिन हुनेछ ।’ एकाएक घर्तीलाई हृदयघात भएको हुन सक्ने उनले आशंका व्यक्त गरे ।