काठमाडौं, १९ भदौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले भारतसँगको सम्बन्ध तनावग्रस्त बनाउँदै लगेको आरोप लगाएका छन् । शनिबार राजधानीमा आयोजित वृहत्त कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री तथा अध्यक्ष ओलीले सरकारलाई सीमा विवाद कहाँ छ भनेर देखाउन चुनौती समेत दिए ।
।
उनले चीन र नेपालबीच कुनै सीमा विवाद नरहेको दाबी गर्दै भने, ‘कसलाई खुसी पार्नका लागि चीनसँग सीमा विवाद छ भनेर समिति बनाउन प¥यो रे ? कसलाई खुसी पार्न ?’ उनले वर्तमान सरकारले कुनै रचनात्मक काम नगरेको बताउँदै भने, ‘उल्टै सबै कुरा बिगार्दै लगेको छ ।’
अध्यक्ष ओलीले माधव नेपाल समूह पार्टीमा वैचारिक द्वन्द्व नभइ केवल पदका लागि मात्र पार्टीबाट बाहिरिएको दावी गरे । ‘कतिले भन्ने गरेका छन् एमाले फुटेको छ टुटेको छ, अझै ठुलो भुँइचालो जानेछ’ उनले भने, ‘अहिले पार्टी फुटेको हैन, पार्टीमा बिग्रिएकाहरू जो विगतदेखि नै पार्टीमा अनेक झमेला गर्दै आएका थिए । ती चोइटिएका मात्र हुन् ।’
उनले मधव समूहलाई ‘पञ्जावका लङ्गुर बाँदरका झुण्ड’जस्तै भएको बताए । अध्यक्ष ओलीले भने, ‘हाम्रो पार्टीबाट जानेहरूले कहिल्यै पार्टीभित्र वैचारिक लडाइँ गरे ? नीति सिद्धान्त बिचारका केही फरक छ ? खाली मलाई यो पुगेन त्यो पुगेन भनेको छ ।’
उनले माधव नेपालले प्रधानमन्त्री बन्न पाउन भनेर राजाको वरिपरि दाम चढाएर हिँडेको भन्दै भने, ‘कहिले हुलाकबाट प्रधानमन्त्री बन्न पाउँ भनेर पत्र पठाएको पनि छ । यस्ता अनेक खालका तमासा गरिएको छ ।’ २ सय ४० सिट भएको बेला पार्टीलाई ३३ सिटमा ल्याएर खुम्चाएको उनले माधवप्रति आरोप लगाए ।