पन्जशिरमा तालिबान-विरोधीबीच भीषण लडाइँ : आफूहरु मजबुत रहेको दुवै पक्षको दाबी
अखबार टुडे
प्रकाशित:
२०७८, १९ भाद्र

काठमाडौं, १९ भदौं । तालिबानहरूले आफ्नो नियन्त्रणमा नरहेको पन्जशिर उपत्यकामा भइरहेको भीषण लडाइँमा प्रतिरोधी फौजविरूद्ध उपलब्धि हासिल गरिरहेको बताएका छन् । तर, प्रतिरोधी फौजका नेताहरूले भने तालिबानको दाबीलाई अस्वीकार गरेका छन् ।

पूर्व अफगान रक्षामन्त्री बिस्मिल्लाह मोहम्मदीले पछिल्लो हमलामा इस्लामवादीहरूले ठूलो क्षति बेहोरेको जनाएका छन् । अमेरिकासँग मिल्दोजुल्दो धारणा राख्ने क्रममा शुक्रबार युरोपेली संघ र ब्रिटेनले तालिबानले नयाँ सत्ता गठन गर्दा आफूहरूले मान्यता नदिने तर सञ्चारको ढोका खुल्ला राख्ने जनाएका छन् ।

तालिबान स्रोतले रोयटर्स समाचार संस्थालाई जानकारी दिएअनुसार उनीहरूले उक्त क्षेत्रमा नियन्त्रण कायम गरेका छन् । तर लडाइँमा सामेल प्रतिरोधी फौज यसलाई अस्वीकार गर्छन् ।

उक्त समूहका नेता पूर्व अफगान राष्ट्रपति अमरूल्लाह सलेहले परिस्थिति अप्ठेरो रहेको उल्लेख गर्दै प्रतिरोधी फौजहरूले निरन्तर लडिरहने बताए । बीबीसीलाई पठाएको भिडिओ सन्देशमा उनले दुवै पक्षमा क्षति भएको बताएका छन् ।

‘अहिले हामी अप्ठेरो परिस्थितिमा रहेकोमा कुनै आशंका छैन् । हामी तालिबानको आक्रमणमा परेका छौँ । तर हामी आत्मसमर्पण गर्दैनौँ । हामी अफगानिस्तानको पक्षमा उभिएका छौँ ।’

उनले आफू देशबाट भागेको भन्ने विवरण खण्डन गर्दै मानिसहरूलाई आश्वस्त पार्न भिडिओ पठाएको जनाएका छन् । तर बीबीसीले स्वतन्त्रतापूर्वक उनको अवस्थिति पुष्टि भने गर्न सकेको छैन् । पन्जशिरमा भइरहेका लडाइँमा सयौँले ज्यान गुमाएका विवरण आएका छन् ।
काबुलको उत्तरमा रहेको सो उपत्यका अफगानिस्तानको सबैभन्दा सानो मध्ये एक प्रान्त हो । तालिबानको हातमा नपरेको यो एउटै मात्र अफगान प्रान्त हो । पहाडहरूले छेकिएको उक्त प्रान्त परम्परागत रूपमा नै तालिबान विरोधी गढ हो । त्यहाँ डेढ लाखदेखि दुई लाख मानिसको बसोबास छ ।

पन्जशिरका अग्ला चट्टान र दुई पहाडका बीचमा रहेका खोँचहरूले उक्त स्थानलाई बलियो गढमा बदल्छन् । उक्त क्षेत्रमा बहुमूल्य धातुका खानी, जलविद्युत् बाँधहरू र वायु ऊर्जा केन्द्र रहेका छन् । र अमेरिकाले त्यहाँ सडक निर्माण र काबुलबाट सङ्केत प्राप्त गर्न सक्ने रेडियो टावर निर्माणमा सहयोग गरेको छ ।

‘यो गुरिल्ला युद्धका लागि उपयुक्त स्थान हो तर यो रणनीतिक छैन’ बीबीसी विश्व सेवाका पत्रकार हरून शफीकी भनेका छन्, ‘न यो कुनै बन्दरगाहको नजिक छ, न यहाँ कुनै उद्योग छ, न त यसले देशको कुल गार्हस्थ्य उत्पादनमा टेवा पु¥याउँछ ।’

प्रतिक्रिया