काठमाडौं, १८ भदौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएका छन् । एमाले फुट्ने अन्तिम घडीसम्म एकताका लागि पहल गर्दै आएका नेता गौतमले शुक्रवार आफैँ पार्टी कार्यालय पुगेर राजीनामा बुझाएको उनका स्वकीय सचिव दिपक टमाटाले बताएका छन् ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरिएको राजीनामा पत्रमा नेता गौतमले पटकपटक व्यक्तिगत सुझाव दिँदा समेत ओली व्यक्तिवादी र स्वेच्छाचारी बन्दै गएको आरोप लगाएका छन् । राजीनामा पत्रमा प्रतिनिधिसभा भंगदेखि पार्टी सञ्चालनमा अध्यक्ष ओलीको कार्यशैलीको आलोचना गरिएको छ ।
किन राजीनामा दिए ?
राजीनामा पत्रमा लेखिएको छ, ‘म आफैँ संलग्न भएर निर्माण भएको नेकपा एमालेमा तपाईँकै गलत विचार प्रवृत्ति र शैलीका कारण यस पार्टीमा रहिरहन असमर्थ भएकोले आजको मितिमा पार्टीको उपाध्यक्ष पद र पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएको छु ।’ तर, उनले आफ्नो भावी कदमबारे केही उल्लेख गरेका छैनन् । अध्यक्ष ओली सँगको चार दशक लामो मित्रता भविष्यमा पनि रहिरहने अपेक्षा उनले गरेका छन् ।
यसअघि नेकपा एमाले विभाजित भएपछि बरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी गठन भएको थियो । उक्त दलमा एमालेका पूर्वअध्यक्ष झलनाथ खनाल समेत सहभागी छन् ।
नेता गौतमले आफ्नो राजीनामा पत्रमा उक्त दलमा जाने वा नजाने नखुलाएपनि पार्टी अध्यक्ष ओलीका कार्यशैलीको चर्को आलोचना गरेका छन् । उनले ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत आफ्ना स्वेच्छाचारी तथा सर्वसत्तावादी नीति र निर्णय कार्यान्वयन गर्न दुरुपयोग गरेको आरोप लगाएका छन् ।
यसअघि नेकपा एकीकृत समाजवादी का अध्यक्ष नेपालले गौतमको दल प्रवेशबारे कुराकानी चलिरहेको सञ्चारमाध्यमहरूलाई बताएका थिए । नेता गौतमले पनि नेपाल पक्षले नयाँ पार्टी गठन गरे आफ्नो साथ रहने बताएका विवरण आएका थिए ।