रोनाल्डोको नयाँ कीतिमान : जसले अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गरे
अखबार टुडे
प्रकाशित:
२०७८, १७ भाद्र

काठमाडौं, १७ भदौं । पोर्चुगलका फुटवलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय पुरुष फुटबलमा सर्वाधिक गोल खेलाडीको नयाँ कीर्तिमान बनाएका छन् ।

विश्वकप फुटबलको छनोट चरणको खेलमा रिपब्लिक अफ आयरल्यान्डविरुद्ध उनले दुई गोल गर्दै आफ्नो गोल संख्या १११ पु¥याएका छन् । उक्त खेलमा पोर्चुगल २–१ ले नाटकीय रूपमा विजयी भएको छ ।

सर्वाधिक गोलकर्ताको कीर्तिमान भंग गर्न ३६ वर्षीय रोनाल्डोले खेलको अन्तिमतिर टाउकोबाट बल प्रहार गरेर दुई गोल गरेका थिए । त्यसअघि उनले प्रहार गरेको पेनाल्टी आयरिश गोलरक्षक ग्याभिन बाजुनूले विफल पारिदिएका थिए ।

इरानका लागि सन् १९९३ देखि २००६ सम्म १४९ खेलमा १०९ गोल गरेका अलि दाई यसअघि सर्वाधिक गोलकर्ता थिए । रोनाल्डोले यूरो २०२० मा फ्रान्सविरुद्ध दुई गोल गरेर उक्त कीर्तिमानसँग बराबरी गरेका थिए ।

म्यान्चेस्टर यूनाइटेडबाट क्लब फुटबल खेल्ने रोनाल्डो राष्ट्रिय टोलीका लागि १८० औँ खेलमा सहभागी भएर सेर्गियो रामोसको युरोपेली कीर्तिमानसँग पनि बराबरी गरेका छन् ।

फिफाका अनुसार मलेशियाका सोह चिन आनले १९६९ देखि १९८४ सम्म १९५ खेल खेलेका थिए। त्यो नै अहिलेसम्मको विश्व कीर्तिमान हो । ९० वा सोभन्दा बढी अन्तर्राष्ट्रिय गोल गर्ने रोनाल्डो र दाई मात्र दुई पुरुष खेलाडी हुन् ।

‘म निकै खुसी छु । कीर्तिमान भङ्ग गरेकाले मात्र हैन, हामीले पाएको विशेष क्षणका कारण पनि’ उनले आरटीईसँग भनेका छन् । खेलको अन्त्यतिर दुई गोल । टोलीले जे ग¥यो त्यसको मैले प्रशंसा गर्नुपर्छ, हामीले अन्तिमसम्म विश्वास कायम राख्यौँ । म निकै प्रसन्न छु उनले भनेको बिबिसीले जनाएको छ ।

क्लब फुटबलको सर्वोच्च प्रतियोगिता युरोपियन कप÷च्याम्पीअन्स लीगमा उनले सर्वाधिक गोल गरेका छन् । उनले उक्त प्रतियोगिता पाँच पटक जिताएका छन् । रोनाल्डो पहिला रेयाल मड्रिडका लागि खेल्थे ।

उनले युरोपियन च्याम्पीअन्शिपको इतिहासमा सर्वाधिक १४ गोल र युरो तथा विश्वकपमा कुल २१ गोल गरेका छन् । रोनाल्डोले गरेका कुल गोलमध्ये झन्डै आधाजति खेलको अन्तिम ३० मिनेटमा भएका छन् । उनले अन्तिम १५ मिनेटमा ३३ पटक गोल गरेका छन् ।

रिपब्लिक अफ आयरल्यान्डविरुद्ध दुई गोल पनि सोही अवधिमा भएका थिए । त्यसैगरी खेलको ६१ औँदेखि ७५औँ मिनेटमा उनले २२ गोल गरेका छन् ।

उनले १६ देखि ३० मिनेटको बीचमा १७ गोल, ३१ देखि ४५ मिनेटको बीचमा १६ गोल गरेका छन्। खेलको पूर्वार्धमा १५ मिनेटभित्र ११ गोल र उत्तरार्धको १५ मिनेटभित्र १२ गरेका छन् ।

रोनाल्डोले ९१ पटक बक्सभित्रबाट र २० पटक बाहिरबाट गोल गरेका छन् । १४ पटक पेनाल्टी र नौ पटक फ्री किकबाट गोल उनले गरेका छन् । लिथ्यूएनीआ र स्वीडनविरुद्ध सात–सातवटा उनले गोल गरेका छन् ।

प्रतिक्रिया